दार्चुला – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलाबाट खुला महिलातर्फ चार जना केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचनको अन्तिम मतपरिणामअनुसार खुला महिलातर्फ ईश्वरी जोशीले सर्वाधिक ६०५ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छन् । त्यस्तै आनन्दी पन्त भट्टले ५७३ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेकी छन् । खुला महिलातर्फ राजू अवस्थी ५५५ मतसहित तेस्रो र द्रोपती डागा ४९२ मतसहित चौथो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । यस क्लस्टरमा देवकी देवी बोहराले ४५८ मत र सरस्वती कुवरले ४३१ मत प्राप्त गरेका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार चार जना महिला उम्मेदवार महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । खुला महिलातर्फको परिणामले दार्चुला कांग्रेसमा महिला नेतृहरूको संगठनभित्रको प्रभाव र सक्रियतालाई पनि देखाएको छ । सर्वाधिक मतसहित निर्वाचित ईश्वरी जोशीले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै पहिलो स्थान हासिल गरेकी छन् भने आनन्दी पन्त भट्ट, राजू अवस्थी र द्रोपती डागाले पनि उल्लेख्य मतसहित प्रतिनिधित्व सुनिश्चित गरेका छन् ।
महाधिवेशन प्रतिनिधि निर्वाचनसँगै दार्चुला कांग्रेसको जिल्ला अधिवेशनबाट विभिन्न क्लस्टरमा निर्वाचित प्रतिनिधिहरूको तस्वीरसमेत स्पष्ट हुँदै गएको छ । खुला महिलातर्फ निर्वाचित चारै जना अब कांग्रेसको १५औँ महाधिवेशनमा दार्चुलाको प्रतिनिधित्व गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्