काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा कांग्रेस थप एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सम्बोधन गर्दै आङदेम्बेले मुलुकलाई जुनसुकै बेला ‘युक्रेन’ बनाउन सक्ने अवस्था आउन सक्ने भन्दै पार्टीभित्र फुट र विभाजन हुन नहुने धारणा राखे । ‘मुलुकलाई कुन बेला युक्रेन बनाउँछन् थाहा छैन, त्यसैले नेपाली कांग्रेस टुट्नु हुँदैन, फुट्नु हुँदैन,’ उनले भने । उनले नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुभन्दा नेतृत्वप्रति भरोसा गरेर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिए। १८ वर्षका युवादेखि ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसम्मले नेतृत्वप्रति भरोसा गरेको उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए ।
आङदेम्बेले कांग्रेसलाई केवल सरकार बनाउने पार्टीका रूपमा सीमित गर्न नहुने बताए। कांग्रेसले विचार, सिद्धान्त र मुलुकको दीर्घकालीन दिशाबारे गम्भीर बहस गर्नुपर्ने उनको भनाइ थियो । ‘कांग्रेस सरकार बनाउने पार्टी मात्र हो कि मुलुक बनाउने पार्टी हो, अब बहस हुनुपर्छ,’ उनले भने, ‘पार्टीलाई सत्ता प्राप्त गर्ने माध्यम बनाइयो भने फेरि पुरानै अवस्थामा पुगिन्छ ।’
सत्तामा पुग्ने उद्देश्यले विभिन्न शक्ति र प्रवृत्तिसँग जोडिँदै जाँदा कांग्रेस आफ्नो विचार र सिद्धान्तबाट विचलित भएको उनले बताए। सत्ताप्राप्तिलाई मात्रै केन्द्रमा राख्दा पार्टी कमजोर हुने भन्दै उनले विगतबाट पाठ सिक्नुपर्ने धारणा राखे । उनले कांग्रेसले नेतृत्व र अनुहार परिवर्तनमा मात्रै सीमित नभई युगलाई दिशानिर्देश गर्ने राजनीतिक शक्ति बन्नुपर्ने बताए । ‘हामीले अनुहार परिवर्तन मात्र गर्ने होइन, युगलाई दिशानिर्देश गर्नुपर्छ,’ आङदेम्बेले भने । राष्ट्रियता र मुलुकका समस्यासँग कांग्रेसको सम्बन्ध जोडिनुपर्ने बताउँदै उनले देशको अवस्था र राष्ट्रिय मुद्दाप्रति पार्टी गम्भीर हुनुपर्नेमा जोड दिए । नेतृत्वले पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने भन्दै उनले आफू समावेशी र एकताबद्ध कांग्रेस निर्माणको पक्षमा रहेको बताए। ‘सबैलाई समेटेर जाने कुरामा भीष्म आङदेम्बे छ,’ उनले भने । महाधिवेशनपछि कांग्रेस नयाँ ऊर्जा, विचार र दृष्टिकोणसहित अघि बढ्ने अपेक्षा व्यक्त गर्दै आङदेम्बेले पार्टीलाई सत्ता केन्द्रित राजनीतिभन्दा विचार र सिद्धान्तमा आधारित बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्