Skip to content

विपदमा बेपत्ता भएका व्यक्तिलाई ४५ दिनपछि मृत मानिने अध्यादेश आउँदै

सरकारले बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्नुपर्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिनमा झार्ने निर्णय गरेको छ । त्यसका लागि सरकारले विपदसम्बन्धी अध्यादेशमार्फत् व्यक्तिगत घटना दर्ता व्यवस्था परिमार्जन गर्न लागेको हो । हालको कानुनले कुनै पनि व्यक्ति बेपत्ता भएको १२ वर्ष पुगेपछि मात्र मृत मान्ने व्यवस्था गरेको थियो। सरकारले अध्यादेशमार्फत् विपदको घटनामा यस्तो अवधि ४५ दिन हुने व्यवस्था गर्न प्रस्ताव गरेको छ ।

सरकारले भोटेकोशी–त्रिशूली बाढी पीडितकेन्द्रित तीनवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद बैठकले भूमि, वन र विपदसम्बन्धी कानुन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ  ।प्राकृतिक विपद वा अन्य घटनामा बेपत्ता भएका व्यक्तिका परिवारले लामो समयसम्म कानुनी प्रक्रियाका कारण भोग्नुपर्ने समस्या सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको हो । मन्त्रिपरिषदको निर्णय अनुसार भूमि र वनसम्बन्धी अध्यादेशका प्रावधान पनि प्रभावित तथा पीडित नागरिकलाई केन्द्रमा राखेर ल्याउन लागेको जनाइएको छ। विपदमा परेका नागरिकलाई जग्गा उपलब्ध गराउन सहज बनाउने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो । सरकारले तत्काल आवश्यक देखिएका विषयमा कानुनी व्यवस्था गर्न अध्यादेशमार्फत ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्