काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार हुने भनिएको मतदान प्राविधिक तथा व्यवस्थापकीय कठिनाइका कारण स्थगित भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले विविध कारणले निर्धारित समयमा मतदान सुरु गर्न नसकिएको बताए । उनका अनुसार ७ हजार ३१७ मतदाता र ८५० जना प्रत्याशी रहेकाले प्राविधिक तथा वैधता परीक्षण र दर्ताको काममा लामो समय लागेको थियो । दाबी–विरोधसम्बन्धी विषय समितिमा छलफल गरेर टुंग्याउनुपर्ने भएकाले पनि समय लागेको उनले बताए ।
मतपत्र छपाइमा समेत ढिलाइ भएको कटुवालले जानकारी दिए । उनका अनुसार करिब २ लाख मतपत्र छपाइ गर्नुपर्ने र कम्तीमा २३ प्रकारका मतपत्र डिजाइन गर्नुपर्ने अवस्था थियो । ‘१ बजेसम्म मतपत्र छापिसक्ने आकलन थियो, त्योअनुसार हुन सकेन,’ उनले भने ।अहिले मतपत्र प्राप्त भइसकेको उनले जानकारी दिए । बिहीबार साँझबाट मतदान सुरु गर्ने विषयमा समेत छलफल भए पनि सुरक्षा दृष्टिकोण र अन्य चुनौतीलाई ध्यानमा राखेर मतदान नगर्ने निर्णय गरिएको कटुवालले बताए । पार्टीका नेताहरूले मतदान सुरु गर्न अनुरोध तथा दबाब दिँदा पनि प्राविधिक कठिनाइका कारण सम्भव नभएको उनको भनाइ छ । निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ । मतदान दिउँसो ३ बजेसम्म सञ्चालन गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्