Skip to content

महाधिवेशन लम्बिएपछि कांग्रेसले प्रतिनिधिका लागि गर्‍यो आवास र खानाको व्यवस्था

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन एक दिन लम्बिएपछि आवास तथा भोजनमा समस्या परेका महाधिवेशन प्रतिनिधिका लागि आवश्यक व्यवस्था गरिने भएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै एक दिन महाधिवेशन सर्दा आवासमा समस्या परेका प्रतिनिधिले आफ्नो क्षेत्रका क्षेत्रीय सभापतिमार्फत केन्द्रीय कार्यालयको डेस्कमा सम्पर्क गरेपछि आवश्यक व्यवस्थापन गरिने जानकारी दिएका छन् । त्यस्तै, आज साँझसम्म पूर्वनिर्धारित कार्यक्रमअनुसार भोजनको व्यवस्था यथावत् रहने र थपिएको समयावधिका लागि पनि भृकुटीमण्डपमा नै भोजनको व्यवस्था गरिने जनाइएको छ । निर्वाचन समितिले २३ असोज बिहान ७ बजेदेखि अपराह्न ३ बजेसम्म निर्वाचन गर्ने गरी कार्यक्रम परिमार्जन गरेको छ । एक दिन समय थपिँदा परेको असर र अप्ठ्यारोलाई परिस्थितिको बाध्यताका रूपमा लिएर भोलि बिहानैदेखि निर्वाचन प्रक्रियामा सहभागी हुन सभापति गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्