Skip to content

अपिहिमालमै भूमि प्रशासन सेवा, नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

काठमाडौँ  –  दार्चुलाको अपिहिमाल गाउँपालिकाले नागरिकलाई स्थानीय तहमै भूमि प्रशासन तथा नापीसम्बन्धी सेवा उपलब्ध गराउन थालेको छ । गाउँपालिकाले बिहीबारदेखि औपचारिक रूपमा भूमि प्रशासन सेवा र नापी सेवा शुभारम्भ गरेको हो । सेवा सुरु भएसँगै अब अपिहिमाल गाउँपालिकाका नागरिकले जग्गा तथा भूमि प्रशासन र नापीसम्बन्धी कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हट्ने भएको छ । स्थानीय तहबाटै सहज र सरल रूपमा सेवा प्राप्त हुने भएपछि नागरिकको समय, श्रम र आर्थिक खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार अपिहिमाललाई सेवा प्रवाहका हिसाबले पनि सक्षम र नागरिकमैत्री स्थानीय सरकार बनाउने उद्देश्यअनुसार भूमि प्रशासन तथा नापी सेवा सुरु गरिएको हो । उनका अनुसार सम्भवतः दार्चुला जिल्लामै पहिलो पटक स्थानीय तहबाट भूमि प्रशासन सेवा सुरु गर्ने पालिका अपिहिमाल बनेको छ भने सुदूरपश्चिम प्रदेशमा धनगढी उपमहानगरपालिकापछि यस्तो सेवा सञ्चालन गर्ने दोस्रो स्थानीय सरकारका रूपमा अपिहिमाल रहेको छ । सेवा शुभारम्भकै दिन अपिहिमाल गाउँपालिका–५ का जगत धामी पहिलो सेवाग्राही बनेका छन् । उनका पिता कालो धामीले छोरा जगत धामीका नाममा वकसपत्र गरी लिखत पारित गराएका हुन्। यससँगै जगत धामी र कालो धामी भूमि प्रशासन सेवाका पहिलो सेवाग्राही बनेका छन् ।

अध्यक्ष बोहराले अपिहिमालमा पर्यटन विकाससँगै पूर्वाधार विकास, सुशासन, आर्थिक विकास तथा जीविकोपार्जन, खानेपानी तथा सरसफाइ, शैक्षिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार तथा सेवा र जनमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए ।  केही दिन अघि मात्रै करदाता सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय डडेल्धुरासँग गाउँपालिकाले महत्वपूर्ण सम्झौता गरेको थियो । उक्त सेवा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष बोहराले जानकारी दिए । उनका अनुसार स्थानीय सरकारबाटै नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने अभियानअन्तर्गत भूमि प्रशासन तथा नापी सेवा सञ्चालन महत्वपूर्ण उपलब्धि हो। ‘सुन्दर, समृद्ध र विकसित अपिहिमाल’ निर्माण गर्ने गाउँपालिकाको लक्ष्यमा नयाँ सेवाको सुरुवातले महत्वपूर्ण योगदान पुर्‍याउने अध्यक्ष बोहराको विश्वास छ ।

दुर्गम क्षेत्रका नागरिकले सामान्य सरकारी सेवाका लागि समेत लामो दूरी तय गरी जिल्ला सदरमुकाम पुग्नुपर्ने अवस्थालाई अन्त्य गर्दै स्थानीय तहबाटै सेवा विस्तार गर्ने प्रयासले अपिहिमालका नागरिकलाई प्रत्यक्ष राहत पुग्ने देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्