“तपाईंहरूले विश्वास गरेर पार्टीको जिम्मेवारी सुम्पिनुभएको छ। यो जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ। यो परिवर्तनका लागि गरिएको विश्वास हो। यो विश्वासलाई अधिकार सम्झन्नँ, जिम्मेवारी सम्झन्छौँ,” थापाले भने । महाधिवेशनमा प्रतिस्पर्धा हुनु लोकतान्त्रिक अभ्यास भएको उल्लेख गर्दै उनले सभापतिका प्रत्याशी श्यामकृष्ण खड्गीसहित प्रतिस्पर्धामा रहेका सबैलाई साथमा लिएर अघि बढ्ने बताए। महाधिवेशनमा कोही जित्ने र कोही हार्ने भए पनि अब सबै मिलेर नागरिकको विश्वास जित्नुपर्ने उनको धारणा थियो । थापाले नागरिक र कांग्रेसबीचको विश्वास कमजोर भएको स्वीकार गर्दै त्यसलाई पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एकजुट हुनुपर्ने बताए। किसान, उद्योगी, व्यवसायीदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीसम्मले भरोसा गर्न सक्ने पार्टी बनाउने उनको प्रतिबद्धता थियो ।
कांग्रेसलाई माया गर्ने लाखौँ शुभेच्छुकलाई पुनः पार्टीसँग जोड्ने र घरघरमा कांग्रेसलाई स्वागत गर्ने वातावरण निर्माण गर्नुपर्ने उनले बताए। त्यसका लागि भाषणभन्दा काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो । महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले सबैको सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट कार्ययोजना बनाइने बताए ।
उनले कांग्रेसले गलत व्यक्तिको पक्षमा नबोल्ने र कसैको अनुचित भार नबोक्ने पनि स्पष्ट पारे । कानुन सबैका लागि समान हुनुपर्ने उल्लेख गर्दै कुनै व्यक्तिले गल्ती गरे त्यसको जवाफदेहिता सम्बन्धित व्यक्तिले नै लिनुपर्ने उनले बताए । “कांग्रेस गलत मान्छेको पक्षमा बोल्दैन, उभिँदैन। कसैको पनि भारी कांग्रेसले बोक्दैन,” थापाले भने ।
कांग्रेसलाई विगतमा व्यक्तिगत फाइदा लिनेहरूको स्वार्थभन्दा माथि उठाउँदै सामाजिक लोकतन्त्रको मान्यताअनुसार अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए । १५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीको कार्यशैली परिवर्तन गर्ने, नागरिकको भरोसा फर्काउने र परिणाममुखी काममार्फत परिवर्तन प्रमाणित गर्ने आफ्नो लक्ष्य रहेको थापाले बताए ।



प्रतिक्रिया दिनुहोस्