काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले महँगीले जनताको दैनिकी जनजीवन अस्तव्यस्त बनेको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटिले आयोजना गरेको कार्यक्रममा उनले खाद्य सामग्रीको मूल्य २०० प्रतिशतभन्दा बढी बढेको दाबी गरे । दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्व नजिकिँदै गर्दा बढ्दो महंगीले सर्वसाधारणलाई थप आर्थिक भार परेको उनको भनाइ छ ।
‘जनताले विकास, समृद्धि, सुखका सबै कुराहरू बिर्सिसकेका छन् । आज जनताहरू यति धेरै आतंकित छन् कि अब हामीलाई आतंक मुक्त वातावरण चाहियो भनिरहेका छन् । अब हामीलाई शान्ति सुरक्षा चाहियो भनिरहेका छन् । र हिजोको जनताको मागका इस्युहरू नै डाइभर्ट भएको स्थिति छ,’ उनले भने । अघिल्लो वर्ष सहज रूपमा चाडपर्व मनाएका नागरिक यसवर्ष महंगीले चाडपर्व मनाउन नसक्ने अवस्थामा पुगेको उनले बताए । ग्यासको अभावमा उपभोक्ता अझै लाइन बस्नुपर्ने अवस्थामा रहेको उनको भनाइ छ ।
‘दशैँँ, तिहार, छठ, ल्होसार लगायतका पर्वहरू आइरहँदा महङ्गीले जनताको टाउकोमा यति भार थपेको छ कि अघिल्लो वर्ष जुन सहजताका साथ जनताहरूले यी पर्वहरू मनाएका थिए, यसपालि त्यो सहजताका साथ यो पर्व मनाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘ग्यास नपाएर लाइन बस्नुपर्ने अवस्था छ । खाद्य सामग्रीको मूल्य दुई सय प्रतिशत भन्दा बढी बढेको छ । दैनिक जबन जनजीवन निकै अस्तव्यस्त छ ।’
उनले जनता पछिल्लो समय आतंकित बनेको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस्