धनगढी – सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि सरेको छ। बजेट सार्वजनिक गर्ने कार्यसूचीसहित आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सारिएको हो । बजेट सार्वजनिकका लागि आवश्यक तयारी पूरा नभएपछि प्रदेशसभा बैठक पटकपटक सर्दै आएको छ। शनिबार पनि बजेट प्रस्तुत गर्ने कार्यसूचीसहित बिहान ८ बजे र त्यसपछि दिउँसो ४ बजेका लागि बैठक बोलाइएको थियो। तर, आवश्यक तयारी पूरा नभएपछि बैठक बस्न सकेन । शनिबार रातिसम्म पनि प्रदेश सरकारको बजेट वक्तव्य लेखन तथा योजनाहरू प्रदेशको बजेट प्रणालीमा प्रविष्ट गर्ने काम जारी रहेको थियो । बजेटका विषयमा छलफल गर्न शनिबार सत्तारुढ नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका प्रदेशसभा सदस्यहरूको बैठकसमेत बसेको थियो ।
उक्त बैठकमा आइतबार बजेट सार्वजनिक गर्ने सहमति जुटेको बताइए पनि निर्धारित समयमा बजेट सार्वजनिक हुने विषयमा अन्योल कायमै छ । प्रदेश सरकारले बजेट ल्याउन नसक्दा सुदूरपश्चिम प्रदेश तीन महिनादेखि बजेटविहीन अवस्थामा छ । चालु आर्थिक वर्ष सुरु भएदेखि नै बजेट अभाव हुँदा प्रदेश सरकारको दैनिक कामकाज र आर्थिक व्यवस्थापन प्रभावित बनेको छ । बजेट अभावको प्रत्यक्ष असर कर्मचारीमा परेको छ। चाडपर्वको मुखमा समेत कर्मचारीले तलब पाउन सकेका छैनन्। बजेट नआउँदा मन्त्रालय तथा मातहतका कार्यालयलाई नियमित कामकाज सञ्चालन गर्न र आर्थिक दायित्व व्यवस्थापन गर्नसमेत कठिनाइ भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्