Skip to content

अपिहिमालमा ६ महिनामै बन्यो धनबोरा ट्रस पुल, अपि बेसक्याम्प पदयात्रा सहज

दार्चुला – अपिहिमाल गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने धनबोरा ट्रस पुलको आज उद्घाटन गरिएको छ। गत वर्ष सुक्खा पहिरोका कारण पुरानो ट्रस पुल भत्किएपछि समस्यामा परेका स्थानीय नागरिक तथा अपिहिमाल बेसक्याम्प जाने पदयात्रीलाई नयाँ पुल निर्माणसँगै सहज हुने भएको छ ।

अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह बोहरा ठेकरेका अनुसार पुल भत्किएपछि गाउँपालिकाले एक साताभित्रै अस्थायी काठे पुल निर्माण गरी आवतजावत सञ्चालन गरेको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी गाउँपालिकाले आफ्नै स्रोतबाट छ महिनाभित्रै नयाँ ट्रस पुल निर्माण सम्पन्न गरेको हो  ।

अध्यक्ष बोहरा ठेकरेले वर्षायाममा समेत छोटो समयमै पुल निर्माण सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताउँदै पुल निर्माणले अपिहिमाल बेसक्याम्पको पदयात्रा तथा स्थानीय नागरिकको आवतजावतमा सहजता थपिएको उल्लेख गरे । नयाँ पुल सञ्चालनमा आएसँगै वडा नम्बर १, २ र ३ लगायतका क्षेत्रका नागरिकलाई आवतजावत गर्न तथा विभिन्न सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । साथै, अपिहिमाल बेसक्याम्प पुग्ने पर्यटक तथा पदयात्रीका लागि पनि यात्रा थप सहज हुने भएको छ । पुल निर्माणमा उपभोक्ता समितिका अध्यक्ष धनमिन ठेकरेसहित समितिका पदाधिकारी, कामदार, प्राविधिक तथा गाउँपालिकाका कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । निर्माण कार्यमा ग्रामीण विकास समाज दार्चुलाका प्राविधिक राजेन्द्रसिंह ठगुन्नाले प्राविधिक सहयोग प्रदान गरेका थिए ।

अध्यक्ष बोहरा ठेकरेले पुल निर्माणमा अहोरात्र खटिने उपभोक्ता समितिका पदाधिकारी, कामदार, प्राविधिक सहयोगी, गाउँपालिकाको योजना तथा प्राविधिक शाखाका कर्मचारीलगायत सहयोग गर्ने सबैलाई धन्यवाद तथा बधाई व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्