काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमाथिको घेराबन्दी अझै जारी रहेको बताएका छन्। उनले आगामी निर्वाचनमा पनि एमालेविरुद्ध घेराबन्दी हुने दाबी गर्दै बलजफ्ती र दमनको प्रतिवाद गर्नुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले आगामी चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने बताए ।
उनले लोकतन्त्र र स्वाधीनता कमजोर बनाइएको दाबी गर्दै तिनको पुनःप्राप्ति अनिवार्य रहेको उल्लेख गरे। बलजफ्ती दमन गरिए त्यसलाई अस्वीकार गर्दै प्रतिवादमा उत्रिने उनको भनाइ थियो । ‘लोकतन्त्र मासिएको छ। स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ। यी चिजको पुनःप्राप्ति गर्नु अनिवार्य सर्त हो,’ ओलीले भने, ‘हामी यसको पुनःप्राप्तिका लागि बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौँ ।’ ओलीले शान्ति, न्याय र मानवताको पक्षमा उभिनुपर्ने बताउँदै निहत्था जनतालाई हतियार र संगठित बल प्रयोग गरेर दबाइए जनताले प्रतिवाद गर्नुपर्ने धारणा राखे। उनका अनुसार आगजनी र लुटपाट आन्दोलन नभई बलियो पक्षले कमजोरमाथि गर्ने बलजफ्तीको प्रतिवाद गर्नु नै आन्दोलन हो ।
‘आगो लगाउनु, लुटपाट गर्नु आन्दोलन होइन। आन्दोलन भनेको ठूलो र बलियोले कमजोरलाई बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नु मात्रै आन्दोलन हो,’ उनले भने । आगामी निर्वाचनमा पनि आफ्नो पार्टीविरुद्ध घेराबन्दी जारी रहने ओलीले दाबी गरे। उनले २०७७ र २०७९ सालमा पनि एमालेविरुद्ध घेराबन्दी गरिएको उल्लेख गर्दै २०७७ सालमा पार्टी नै कब्जा गरेर घेराबन्दी गरिएको आरोप लगाए । ‘यस निर्वाचनमा हामीविरुद्धको घेराबन्दी सकिएको छैन। घेराबन्दी चालु छ,’ ओलीले भने । उनले आगामी चुनौतीहरूको सामना गर्दै लोकतन्त्र, स्वाधीनता र जनताको अधिकारको पुनःस्थापनाका लागि अघि बढ्नुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस्