Skip to content

टेन्ट टाँगेरै भए पनि मतगणनाको रफ्तार बढाउने कांग्रेसको तयारी

 काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनालाई तीव्रता दिन २३ ठाउँबाट गणना भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार २३ वटा मतगणनास्थलहरूमा ७ हजार ३९ जना महाधिवेशन प्रतिनिधिहरूको मतगणना भइरहेको छ ।  यस प्रक्रियामा करिब १ लाख ८४ हजार मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्ने छ । बढ्दो मतदाता संख्या र क्लस्टरहरूका कारण कामलाई द्रुत बनाउन निर्वाचन समिति लागिपरेको कटुवालले बताए । 

कटुवालका अनुसार नेपाली जनसम्पर्क समितिको ९ स्थानमा, आदिवासी जनजाति समूहको ३ स्थानमा, सह–महामन्त्री (महिला र खुला) ४ स्थानमा, पिछडिएको क्षेत्रको २ स्थानमा मत गणना भइरहेको छ ।  कटुवालले पार्टीको भौतिक संरचनाले भ्याएसम्मको स्थानहरूमा मतगणना भइरहेको र थप स्थलहरूका लागि कार्यालय बाहिर टेन्ट टाँगेर भए पनि मतगणनाको संख्या बढाउने प्रयास भइरहेको छ ।  ‘यसपटक थप क्लस्टर र मतदाता सङ्ख्या बढेकाले काममा चुनौती छ, तर हामी द्रुत गतिमा काम गरिरहेका छौँ । हामीले ३ दिनभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने गरी तयारी गरेका छौँ,’ उनले भने । विभिन्न समावेशी क्लस्टर, पेसागत समूह र द्वन्द्वपीडित लगायतका क्षेत्रहरूको छुट्टाछुट्टै मतगणना भइरहेकाले यस पटकको निर्वाचन प्रक्रिया थप जटिल भए पनि निर्वाचन समितिले व्यवस्थापनमा कुनै कसर बाँकी नराखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्