Skip to content

रास्वपा उम्मेदवार बन्न मिटरब्याज, सहकारी अपचलन र साइबर बुलिङ नगरेको स्वघोषणा अनिवार्य

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिहरूको नैतिक आचरण र विगतलाई लिएर कडा सर्तहरू अघि सारेको छ । पार्टीको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुसार आकांक्षीहरूले कानुनी योग्यताका अतिरिक्त आफ्नो वित्तीय तथा नैतिक आचरणबारे अनिवार्य रूपमा कडा स्वघोषणा पेस गर्नुपर्नेछ । रूपरेखामा व्यवस्था गरिएअनुसार कुनै पनि व्यक्ति उम्मेदवार बन्नका लागि आफू मिटरब्याज, सट्टेबाजी, सहकारी बचत अपचलन, घरेलु हिंसा र साइबर बुलिङ जस्ता कुनै पनि गैरकानुनी तथा अनैतिक गतिविधिमा संलग्न नभएको प्रमाणित गर्नुपर्नेछ । यसका साथै, स्थानीय तहका ठेक्कापट्टा वा अन्य व्यवसायमा प्रत्यक्ष संलग्न भई स्वार्थ बाझिने अवस्था नरहेको स्पष्ट लिखित स्वघोषणासमेत बुझाउनुपर्नेछ ।

सुशासन र पारदर्शिताको नारा दिँदै आएको रास्वपाले उम्मेदवारको पृष्ठभूमि सफा राख्न यो नीति ल्याएको हो । यदि कुनै आकांक्षी वा उम्मेदवारले झुटो विवरण पेस गरी स्वघोषणा गरेको पाइएमा जुनसुकै बेला उसको उम्मेदवारी रद्द गरिनेछ । यति मात्र नभई, पार्टीलाई गुमराहमा राखेर झुटो विवरण दिने त्यस्ता व्यक्तिको पार्टी सदस्यतासमेत खारेज हुने कडा दण्डको व्यवस्था रूपरेखामा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्