काठमाडौं – मलेसियाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाललाई १० लाख अमेरिकी डलर (१५ करोड रुपैयाँभन्दा बढी) सहयोग गरेको छ । मलेसियाका विदेशमन्त्री दातो सेरी उतामा हाजी मोहम्मद बिन हाजी हसनले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
नेपालका लागि मलेसियाली नियोगकी कार्यवाहक प्रमुख मुदिता बज्राचार्यले आज विदेशमन्त्री हसनबाट चेक ग्रहण गरेकी हुन् । उक्त सहयोग १० भदौमा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालले अघि बढाइरहेको पुनर्स्थापना तथा पुनर्निर्माण प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रदान गरिएको हो । चेक हस्तान्तरण क्रममा मलेसियाका विदेशमन्त्री हसनले बाढीका कारण भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवार तथा प्रभावित नेपालीप्रति समवेदना प्रकट गरे ।
कार्यवाहक प्रमुख बज्राचार्यले नेपालको विपद् पुनर्स्थापना प्रयासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएकोमा मलेसिया सरकारलाई धन्यवाद दिइन् । उनले विपद्का बेला नेपाली जनताप्रति मलेसियाले व्यक्त गरेको ऐक्यबद्धताको पनि प्रशंसा गरिन् ।मलेसियाको यो सहयोग भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत परिचालन गरिने दूतावासले जनाएको छ । भोटेकोशी बाढीमा मलेसियाका समेत ५० भन्दा बढी नागरिक सम्पर्कविहीन छन् । मलेसियाले आफ्ना नागरिकको अवस्थाबारे चासो राख्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्