काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सांसद खगेन्द्र सुनारले आफूमाथि प्रश्न उठेको स्वीकार्दै त्यसको निर्मम छानबिन गर्न आग्रह गरेका छन् । बुधबार साँझ फेसबुकमार्फत सांसद चन्दे आफूमाथि उठेका प्रश्नप्रति पार्टी र पार्टी सदस्यले शिर झुकाउनु नपर्ने भन्दै यस्तो बताएका हुन् । ‘प्रश्न म माथि उठेको प्रश्न हो । यसमा पार्टी र पार्टीमा आबद्ध सदस्य, शुभचिन्तक, मतदाता कसैले पनि शिर झुकाउनु पर्दैन । म माथि निर्मम छानविन गरियोस्,’ सांसद सुनारले लेखेका छन्, ‘आवश्यक परे प्रतिनिधिसभा सदस्य, पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन, बर्खास्त गरियोस् ।’ उनले आफूले गरेका कुकर्मको सती पार्टीले जान नपर्ने पनि टिप्पणी गरेका छन् । ‘म र मैले गरेको कुनै पनि कुकर्मको पार्टी, सरकार सती जान पर्दैन । म पार्टी, सरकार, राज्यका सबै निकायले गर्ने छानबिनमा सघाउन तयार छु,’ उनले लेखेका छन् । उनले आफूले ‘गरिएको भनिएको पाप, अपराध के हो ? प्रमाणित भएको खण्डमा जस्तोसुकै सजाय भोग्न तयार’ रहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्