Skip to content

साइ होपको कीर्तिमानी शतकमा वेस्ट इन्डिज विजयी, भारतसँग सिरिज २–२ को बराबरीमा

काठमाडौँ – साइ होपको कीर्तिमानी शतकप्रेरित वेस्ट इन्डिजले चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई २४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको सिरिज २–२ को बराबरीमा पुगेको छ । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले होपको अविजित १०२ रनको मद्दतमा २० ओभरमा तीन विकेट गुमाएर २४७ रन बनाएको थियो । होपले ४९ बलमा नौ छक्का र चार चौका प्रहार गरे । यो उनको टी–२० अन्तर्राष्ट्रियमा तेस्रो शतक हो, जुन वेस्ट इन्डिजका ब्याटरमध्ये सर्वाधिक हो । होपले ज्वेल एन्ड्र्यु (२१)सँग पहिलो विकेटका लागि ५२ रनको साझेदारी गरे । त्यसपछि शिम्रोन हेटमायरसँग ५८ रन जोडे । हेटमायरले ३३ रन बनाए । अन्तिमतिर शेरफेन रदरफोर्डले २६ बलमा अविजित ४९ रन थपे । होप र रदरफोर्डले ४३ बलमा ९१ रनको साझेदारी गरे ।

जवाफमा भारतले सञ्जु सामसनको आक्रामक अर्धशतकका बाबजुद १९.३ ओभरमा सबै विकेट गुमाएर २२३ रन मात्र बनाउन सक्यो । सामसनले २३ बलमा ५६ रन बनाए । उनले चार छक्का प्रहार गरे । यस्तै, तिलक वर्माले २५ बलमा ४३ तथा नितिश रेड्डीले २० बलमा ४१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । अभिषेक शर्माले २९ रन जोडे । वेस्ट इन्डिजका केमो पलले घातक बलिङ गर्दै ४१ रन खर्चेर पाँच विकेट लिए । उनले टी–२० क्रिकेटमा दोस्रो पटक पाँच विकेट लिने उपलब्धि हासिल गरे । गुदाकेश मोतीले पनि दुई विकेट लिए । होपले यसै सिरिजमा दोस्रो शतक प्रहार गरेका हुन् । उनी द्विपक्षीय टी–२० सिरिजमा एकभन्दा बढी शतक बनाउने पाँचौँ ब्याटरसमेत बनेका छन् । अब सिरिजको निर्णायक पाँचौँ तथा अन्तिम टी(२० खेल शनिबार बेंगलुरुमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्