उनले पार्टीको आन्तरिक निर्वाचनलाई जित र हारको अन्तिम मानकका रूपमा लिन नहुने उल्लेख गर्दै आन्तरिक लोकतान्त्रिक अभ्यासमा प्रतिस्पर्धा स्वाभाविक भएको बताए । पार्टीको हितका लागि सबै योग्य र सक्षम नेताहरूलाई समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ अघि बढ्नुपर्ने उनको भनाइ थियो । थापाले यसपटक केन्द्रीय कार्यसमितिमा रहेर काम गर्न योग्य र सक्षम धेरै नेताहरू छुटेको स्वीकार गरे। केही नेता प्रतिस्पर्धामा सहभागी नभएको र केही प्रतिस्पर्धाबाट निर्वाचित हुन नसकेको उल्लेख गर्दै उनले उनीहरूलाई पनि पार्टीको संगठनात्मक काममा सक्रिय रूपमा सहभागी गराउने प्रतिबद्धता जनाए । ‘केन्द्रीय समितिलाई प्रभावकारी रूपमा अगाडि बढाउनु मेरो महत्त्वपूर्ण जिम्मेवारी हो। पार्टीको केन्द्रीय कार्यसमितिमा रहेर मसँग काम गर्न योग्य र सक्षम धेरै साथीहरू यसपटक छुट्नुभएको छ,’ थापाले भने, ‘पार्टीको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धामा जित्नेले सबै पाउने र हार्नेले सबै गुमाउने भन्ने हुँदैन। पार्टीको हितका लागि सबै योग्य र सक्षम साथीहरूलाई समेटेर अघि बढ्नु आवश्यक छ ।’
सभापति थापाले पार्टीभित्रको एकतालाई अहिलेको मुख्य आवश्यकता भन्दै आन्तरिक प्रतिस्पर्धाका कारण उत्पन्न हुन सक्ने विभाजन अन्त्य गरी सबै पक्षलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले छुटेका नेताहरूलाई समेत समेटेर सामूहिक नेतृत्व र सहकार्यका आधारमा पार्टी सञ्चालन गर्ने तथा संगठनात्मक संरचनालाई पूर्णता दिने प्रक्रिया सकेसम्म छिटो अघि बढाउने बताए । ‘छुट्नुभएका साथीहरूलाई पनि समेटेर सामूहिक नेतृत्व र सहकार्यका साथ पार्टीलाई अगाडि बढाउनेछु। यो प्रक्रिया सकेसम्म छिटो पूरा गर्नेछौं,’ उनले भने ।


प्रतिक्रिया दिनुहोस्