Skip to content

काठमाडौँ उपत्यकामा बढ्यो चिसो, न्यूनतम तापक्रम घट्यो

काठमाडौँ – अघिल्लो दिन शुक्रबारको तुुलनामा आज शनिबार काठमाडौँ उपत्यकामा चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.८ डिग्री सेल्सियसमा झरेको हो । अझ यो प्रारम्भिक मापन हो । आजको न्यूनतम तापक्रमको अन्तिम अर्थात् आधिकारिक मापन अहिले बिहान ८:४५ बजे गरिन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवाती मापनमा देखिएभन्दा अरू घट्ने सम्भावना हुन्छ ।

हिजो शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस थियोे। यस हिसाबले हिजोभन्दा आज काठमाडौँ उपत्यकामा चिसो बढेको छ । त्यसो त मनसुन बािहिरिएर पश्चिमी वायु भित्रिएयता देशभर नै तापक्रम घट्दो र चिसो बढ्दो छ । मौसम महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ । न्यूनतम बिहान ८:४५ बजे मापन गरिन्छ भने अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ ।

मनसुन प्रणाली नेपालबाट असोज २८ गते पूर्ण रूपमा बाहिरिएको हो । अब देशमा मनसुनी वायुको प्रभाव छैन । मनसुन अन्त्य भएसँगै औपचारिक रूपमा वर्षायाम सकिएको छ भने पोस्ट-मनसुन सुरु भएको छ। हाल देशमा पश्चिमी वायुको प्रभाव छ । मौसमविद्का अनुसार पोस्ट-मनसुन सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ । यसपछि डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना- डिसेम्बर, जनवरी र फेब्रुअरीसम्म रहन्छ । विन्टरको अन्त्यपछि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना- मार्च, अप्रिल र मेसम्म रहन्छ । यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ ।मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्