Skip to content

क्यानडासँग नेपाल २४ रनले पराजित, शीर्ष ६ मा पुग्न ओमानलाई हराउनैपर्ने

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा समेटिएपछि क्यानडाले जित निकालेको हो । नेपालका लागि युवा ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। करण केसीले अविजित १७ रन बनाउँदै अन्तिमसम्म संघर्ष गरे। तर, अन्य ब्याटरले उल्लेखनीय योगदान दिन नसक्दा नेपालले महत्त्वपूर्ण खेल गुमायो ।

लगातार दुई खेल जित्दै लिग–२ को शीर्ष ६ मा पर्ने सम्भावना बलियो बनाएको नेपाल यो हारपछि अंकतालिकाको सातौँ स्थानमा झरेको छ। सबै ३६ खेल खेलिसकेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । नेपालले अब शीर्ष ६ मा पर्ने सम्भावना कायम राख्न अन्तिम खेलमा घरेलु टोली ओमानलाई हराउनुपर्नेछ। लिग–२ को शीर्ष ६ मा रहने टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना बलियो बनाउने भएकाले नेपालका लागि ओमानविरुद्धको खेल निर्णायक बनेको छ । यसअघि नै शीर्ष चारको दौडबाट बाहिरिएको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भइसकेको छ। अब विश्वकप छनोटमा स्थान बनाउन नेपालले प्लेअफ छनोटको बाटो अपनाउनुपर्नेछ ।

युबराज सम्राको शतकमा क्यानडाले बनायो २५६ रन

टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २५६ रन बनाएको थियो । क्यानडाका ओपनर युबराज सम्राले शतकीय इनिङ्स खेल्दै टोलीलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याए । उनले ११७ बलमा ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाए । अर्का ओपनर आरोन जोन्सले ३६ रन जोडे । पहिलो विकेटका लागि सम्रा र जोन्सले ७२ रनको साझेदारी गर्दै क्यानडालाई राम्रो सुरुवात दिलाएका थिए । हर्श थाकेरले ३४ तथा कप्तान हम्जा तारिकले ३० रन बनाए। समित गोहेलले १७ र आदित्य बरदाराजनले १२ रन जोडे । क्यानडाका ब्याटरले राम्रो सुरुवात गरे पनि नेपाली स्पिनरले दबाब सिर्जना गर्दै सबै १० विकेट लिए। नेपालका लागि ललित राजवंशीले १० ओभरमा एक मेडन राख्दै ३९ रन खर्चेर सर्वाधिक चार विकेट लिए। सन्दीप लामिछानेले तीन, दीपेन्द्रसिंह ऐरीले दुई तथा रोहित पौडेलले एक विकेट हात पारे ।

अर्जुनको ८७ रन खेर गयो

२५७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका युवा ओपनर अर्जुन कुमालले धैर्यपूर्ण र उत्कृष्ट ब्याटिङ गरे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउनबाट १३ रनले चुकेका उनले ११२ बलमा चार चौकासहित ८७ रन बनाए । अर्जुनले ४१ ओभरसम्म क्रिजमा टिकेर नेपालको जितको सम्भावना जीवित राखेका थिए। तर, उनलाई अन्य ब्याटरले पर्याप्त साथ दिन सकेनन्। अर्जुन आउट भएपछि नेपालले लगातार विकेट गुमाउँदै लक्ष्य पूरा गर्न असफल भयो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले समान २१ तथा आसिफ शेखले २० रन बनाए। करण केसी १७ रनमा अविजित रहे । अन्तिमतिर करणले एक छेउ सम्हालेर खेल्ने प्रयास गरे पनि नेपाल ४६औँ ओभरमै अलआउट भयो। क्यानडाका शिल पटेलले नन्दन यादव र ललित राजवंशीलाई आउट गरे भने सन्दीप लामिछाने रनआउट भए । क्यानडाका लागि सुदजिन्दर सिंहले तीन तथा कलिम साना र शिल पटेलले समान दुई विकेट लिए । क्यानडासँगको हारले नेपालको शीर्ष ६ मा पर्ने समीकरण कठिन बनेको छ। अब ओमानविरुद्धको अन्तिम खेलमा जित निकाल्दै नेपालले लिग–२ मा आफ्नो स्थान सुधार गर्ने अवसर पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्