काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा ओमानलाई १० रनले पराजित गर्दै नेपालले अंकतालिकामा छैटौँ स्थान पक्का गरेको छ । सोमबार ओमानको अल अमेरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २७० रन मात्रै बनाउन सक्यो । नेपालको जितमा बलरहरूले अन्तिम समयमा उत्कृष्ट पुनरागमन गरे। ओमानका जतिन्दर सिंह र हम्माद मिर्जाले दोस्रो विकेटका लागि १५८ रनको साझेदारी गर्दै नेपालमाथि दबाब बनाएका थिए। जतिन्दरले ८९ र हम्मादले ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।
ओमानले ३२ रनमा पहिलो विकेट गुमाएपछि जतिन्दर र हम्मादले इनिङ्स सम्हालेका थिए । १९० रनमा दोस्रो विकेट लिएपछि नेपालले लगातार विकेट निकाल्दै खेलमा फर्कने प्रयास गर्यो। २२४ रनमा पाँचौँ विकेट गुमाएको ओमान सन्जु सजिव रनआउट भएपछि २३२ रनमा छैटौँ विकेट गुमाउन पुग्यो । त्यसपछि हस्नैन शाहले आक्रामक ब्याटिङ गर्दै ओमानलाई जितको आशा देखाए । २३ बलमा ४० रन बनाउँदै अविजित रहेका उनले अन्तिम ओभरमा पनि खेललाई रोमाञ्चक बनाए । अन्तिम ओभरमा ओमानलाई जितका लागि २३ रन आवश्यक थियो। बलिङमा आएका दीपेन्द्रसिंह ऐरीले दबाबका बीच ओभर सम्हाल्दै नेपाललाई जित दिलाए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतकीय पारी खेले । रोहितले ८१ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ८० रन बनाए। दीपेन्द्रले ६२ बलमा तीन चौका र चार छक्कासहित ६९ रन जोडे। ओपनर देवले ६५ बलमा चार चौका र एक छक्कासहित ५७ रन बनाए । नेपालले ९९ रनमा तीन विकेट गुमाएको अवस्थामा रोहित र दीपेन्द्रले चौथो विकेटका लागि १३९ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। त्यसपछि भने नेपालको ब्याटिङ सम्हालिन सकेन र टोली २८० रनमै समेटियो। अन्त्यतिर बसिर अहमदले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन जोड्दै टोलीको स्कोर बढाए । ओमानका शाह फेसलले आठ ओभरमा ५७ रन खर्चेर पाँच विकेट लिए। जय ओडेराले तीन तथा समय श्रीवास्तवले दुई विकेट हात पारे । यस जितसँगै नेपालले लिग–२ को ३६ खेलबाट ३० अंक जोडेको छ । यसअघि शनिबार क्यानडासँग पराजित भएपछि नेपाल २८ अंकसहित सातौँ स्थानमा झरेको थियो । क्यानडाले नेपाललाई हराएपछि ३६ खेलबाट २९ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको थियो । ओमानलाई हराएसँगै नेपालले क्यानडालाई पछि पार्दै पुनः छैटौँ स्थानमा उक्लिएको हो । लिग–२ को शीर्ष छ स्थानमा रहने टोलीका लागि एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउने सम्भावना बलियो हुने भएकाले नेपालको यो जित महत्त्वपूर्ण बनेको छ ।


प्रतिक्रिया दिनुहोस्