काठमाडौं – भारतको ककरोच जनता पार्टी (सिजेपी) का नेता सौरव दास र आशुतोष रंका तिहाड जेलबाट रिहा भएका छन् । शान्ति कायम राख्ने लिखित प्रतिबद्धता जनाएपछि विशेष कार्यकारी मजिस्ट्रेटले बुधबार उनीहरूलाई रिहा गर्न आदेश दिएका हुन् । इन्डिया टुडेको रिपोर्टअनुसार, विशेष कार्यकारी मजिस्ट्रेटका रूपमा कार्यरत सहायक प्रहरी आयुक्त रितु राजले उनीहरूको न्यायिक हिरासत तीन दिन थप्न प्रहरीले गरेको माग अस्वीकार गरेका थिए । शान्ति भंग हुने आशंकालाई व्यक्तिगत धरौटी र लिखित प्रतिबद्धतामार्फत सम्बोधन गर्न सकिने उनको भनाइ थियो । दुवै नेताले अनुसन्धान पूरा नहुँदासम्मका लागि जनही ५० हजार भारुको व्यक्तिगत धरौटी र जमानत पेस गरेका छन् । दिल्ली उच्च अदालतमा हिरासत अवधि थप्ने निर्णयविरुद्ध दायर निवेदन फिर्ता लिएको केही घण्टापछि उनीहरू रिहा भएका हुन् । दास र रंकाले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन प्रक्रियामा अनियमितता भएको र मतदाताको नाम हटाइएको आरोप लगाउँदै प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै आएका छन् ।
रिहाइका लागि राखिएका सर्त
रिहाइअघि दुवै नेताले छुट्टाछुट्टै लिखित प्रतिबद्धता जनाउँदै शान्ति भंग नगर्ने तथा विशेष कार्यकारी मजिस्ट्रेटको अदालतसहित न्यायपालिकाप्रति विश्वास कायम राख्ने बताएका छन् । जंतरमंतरलाई पुनः प्रदर्शनस्थलका रूपमा तोकिएको अवस्था नरहेसम्म त्यहाँ प्रदर्शनका लागि आह्वान नगर्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन्। आफूहरूले गर्ने प्रदर्शन संविधानको सीमाभित्र रहेर सञ्चालन गर्ने उनीहरूको भनाइ छ । यी प्रतिबद्धतालाई ध्यानमा राख्दै मजिस्ट्रेटले थप न्यायिक हिरासत आवश्यक नरहेको ठहर गरेका हुन्। दुवै नेता प्रत्येक सुनुवाइमा उपस्थित हुनुपर्नेछ भने धरौटी र लिखित प्रतिबद्धताका सर्तसमेत पालना गर्नुपर्नेछ । अर्को सुनुवाइ अक्टोबर २३ मा दिउँसो ३ बजेका लागि तोकिएको छ। उक्त दिन दुवै नेता र उनीहरूका जमानतकर्ता उपस्थित हुनुपर्नेछ ।
प्रहरीले मागेको थियो थप हिरासत
शान्ति भंग हुने जोखिम कायमै रहेको भन्दै प्रहरीले दास र रंकाको न्यायिक हिरासत तीन दिन थप्न माग गरेको थियो। अदालतमा दिएको बयान, सञ्चारमाध्यममा व्यक्त गरेको धारणा र लिखित जवाफमा उनीहरूको भनाइ परस्पर विरोधाभासी रहेको प्रहरीको आरोप थियो ।यसअघि उनीहरूलाई तिहाड जेल लैजाँदै गर्दा सिजेपीका अर्का सदस्यले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले विशेष कार्यकारी मजिस्ट्रेटको अदालतको अधिकारलाई कमजोर बनाएको आरोप पनि प्रहरीले लगाएको थियो । यस विषयमा दास र रंकाका वकिलले निःसर्त माफी माग्दै आगामी दिनमा त्यस्तो व्यवहार नदोहोरिने आश्वासन दिएको इन्डिया टुडेले जनाएको छ । सिजेपीकी कानुनी प्रमुख रत्ना सिंहले रिहाइको निर्णयको स्वागत गरेकी छन्। उनका अनुसार यो निर्णय पहिले नै हुनुपर्ने थियो । ‘तर ढिलो भए पनि निर्णय आएको छ,’ उनले सञ्चारकर्मीसँग भनिन्। उनले पार्टीका सदस्यहरू भावुक भएको र दुवै नेतासँग भेट्न आतुर रहेको बताइन्। भविष्यमा धरौटी वा प्राविधिक कारणले कसैको स्वतन्त्रता कुण्ठित नहोस् भन्ने आशासमेत उनले व्यक्त गरिन् ।
यसरी पक्राउ परेका थिए दास र रंका
दास र रंकालाई अक्टोबर १० मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको थियो। उनीहरू प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रदर्शन गर्ने तयारीमा थिए । संसद मार्ग प्रहरीले भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १२६ र १७० अन्तर्गत शान्ति कायम गराउने उद्देश्यले उनीहरूमाथि कारबाही अघि बढाएको थियो । त्यस दिन जनही ५० हजार भारुको शान्ति धरौटी पेस गरेपछि उनीहरू रिहा भएका थिए । तर अक्टोबर १४ मा तिरंगा मार्चका क्रममा जंतरमंतरमा प्रवेश गरेको र यसअघि पेस गरेको शान्ति धरौटीका सर्त उल्लंघन गरेको आरोपमा उनीहरूलाई पुनः पक्राउ गरिएको थियो । त्यसपछि उनीहरूलाई सुरुमा पाँच दिनका लागि न्यायिक हिरासतमा पठाइएको थियो। अक्टोबर १९ मा हिरासत अवधि थप दुई दिन बढाइएको थियो । अन्ततः लिखित प्रतिबद्धता र धरौटी पेस गरेपछि बुधबार उनीहरू रिहा भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्