आइतबार दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने तथा कोशी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ । मङ्गलबार र बुधबार देशभर आंशिक बदली हुने अनुमान गरिएको छ । ती दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । यसैबीच, तराईका साथै उपत्यका र खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ । हुस्सु र कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
महाशाखाका अनुसार आगामी तीन दिन तथा कात्तिक ११ गतेसम्मका लागि कुनै मौसमी चेतावनी जारी गरिएको छैन । यद्यपि, मौसममा हुन सक्ने परिवर्तनबारे जानकारी लिन नियमित रूपमा मौसम पूर्वानुमान तथा सूचनाहरू हेर्न सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्