काठमाडौं – नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज साँझ धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइँदैछ।
धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको रात जाग्राम बसेका भक्तजनको घरमा महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्नुहुन्छ भन्ने विश्वास छ। यही विश्वासका आधारमा आश्विन शुक्ल पूर्णिमाको साँझ महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य पनि आजै सम्पन्न हुन्छ। अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने तथा मान्यजनबाट आशीर्वाद लिने क्रम समाप्त हुन्छ। यस दिन जमरालाई नजिकका नदी, तलाउ, पोखरीलगायत पवित्र तीर्थस्थलमा लगेर विसर्जन गर्ने चलन छ।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापनासँगै सुरु भएको दुर्गा पक्ष नेपालीले आ–आफ्नो परम्परा र गच्छेअनुसार मनाउने गर्छन्। नवरात्रको समापन विजयादशमीका दिन हुने भए पनि दुर्गा पक्ष भने कोजाग्रत पूर्णिमासँगै समाप्त हुने धार्मिक मान्यता छ। माता दुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको पूजा आराधना गरी दुर्गा पक्षलाई बिदाइ गरिन्छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। यस दिन महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पूजा गर्ने र राति जुवा खेल्ने धार्मिक परम्परासमेत रहेको समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईले बताउनुभएको छ। यसैबीच, कात्तिक स्नान तथा तुलसीको विशेष पूजा आराधना कात्तिक ९ गते सोमबारदेखि सुरु हुने समितिबाट स्वीकृत पात्रोमा उल्लेख छ। आकाशदीपदान पनि सोही दिनको साँझदेखि सुरु गरिनेछ। कोजाग्रत पूर्णिमासँगै बडादसैँको औपचारिक समापन हुने भए पनि यसपछि नेपाली धार्मिक परम्पराअनुसार कात्तिक महिनाका विशेष पूजा र अनुष्ठान सुरु हुनेछन्।


प्रतिक्रिया दिनुहोस्