गत वर्षको असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, चालु आवको भदौमा ५ अर्ब ९ करोड २५ लाख रुपैयाँको विद्युत् निर्यात भएको थियो। यस वर्षको असोजमा गत वर्षको असोजभन्दा ९६ करोड २० लाख र भदौभन्दा ८३ करोड २५ लाख रुपैयाँ बढी कारोबार भएको हो। चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार असोजमा निर्यात गरिएको कुल विद्युत्मध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी भारतीय ऊर्जा विनिमय बजारमार्फत बिक्री गरिएको थियो। द्विपक्षीय सम्झौताअनुसार भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री हुँदै आएको छ।
बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु
भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो। भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य आयोजनाको विद्युत् बंगलादेशतर्फ निर्यात गर्न अनुमति प्राप्त भएपछि कात्तिक ६ गते शुक्रबार साँझदेखि निर्यात पुनः सुरु भएको प्राधिकरणले जनाएको छ। नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा भारतको हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको छ। नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच २०८१ असोज १७ गते भएको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुँदै आएको छ।
निर्यात क्षमता १ हजार १७९ मेगावाट
भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यातको अनुमति प्राप्त भएको छ। नयाँ अनुमतिसँगै भारततर्फ विद्युत् निर्यात गर्न स्वीकृति प्राप्त कुल क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ। वर्षायाममा देशभित्रको माग पूरा गरी बचत हुने विद्युत् भारत र बंगलादेशमा निर्यात हुँदै आएको छ। बाढीबाट प्रभावित आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगे पनि अन्य आयोजनाबाट निर्यातलाई निरन्तरता दिन सक्नु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनुलाई नेपालको विद्युत् व्यापार विस्तारका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


प्रतिक्रिया दिनुहोस्