दार्चुला – जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका आठ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप गरेको छ। शैल्यशिखर नगरपालिका–९ गाँजरीस्थित केशव विकले सञ्चालन गरेको सुदर्शन खुद्रा पसल रहेको घरको कोठामा शनिबार जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका ८ जनालाई म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज सिंह भाटको नेतृत्वमा खटिएको ११ जनाको प्रहरी टोलीले छापा मारेको थियो। प्रहरीले जुवाखालबाट ७१ हजार ७७५ रुपैयाँ नगद र तीन गड्डी तास बरामद गरेको छ । पक्राउ परेका आठै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूले नाम सार्वजनिक नगर्न आग्रह गरेकाले उनीहरूको नाम खुलाउन नमिल्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । पक्राउ पर्नेमा वडा अध्यक्ष भए नभएको यकिन नभएको प्रहरीको जवाफ छ।


प्रतिक्रिया दिनुहोस्