Skip to content

बङ्गालको खाडीमा विकसित पानी पार्ने प्रणाली थप बलियो बन्दै

काठमाडौँ  – बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएर नेपालमा आउँदाे बिहीवार कात्तिक १२ गतेदेखि वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा बुधवारदेखि नै मौसम बदली भई बिहीवारदेखि वर्षाको प्रभाव तीव्र हुने सम्भावना छ । बुधवार पनि बादल लागेर छिटपुट वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । बिहीवारदेखि शनिवारसम्म यसको प्रभाव उच्च रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका पूर्वी भूभागमा वर्षाको धेरै प्रभाव पर्ने देखिएको छ भने सुदूरपश्चिम र कर्णालीमा यसको असर तुलनात्मक रूपमा कम हुनेछ । मौसमसम्बन्धी जानकार उज्ज्वल उपाध्यायका अनुसार बिहीवारदेखि आइतवारसम्म देशका विभिन्न ठाउँमा औसतमा १०० मिलिमिटर र केही ठाउँमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्छ । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, लमजुङ, गोरखा, म्याग्दी र बागलुङलगायत पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक वर्षा र हिमपातको धेरै जोखिम रहेको छ । मनसुनमा भिजेर नसुकेको जमिनमा बाढी, पहिरो र हिमपहिरोको जोखिम रहने विज्ञहरूले बताएका छन् । यसैबीच अहिले धान काट्ने र पर्वतारोहणको समय भएकाले किसान तथा पर्यटकहरूलाई विशेष सतर्कता अपनाउन मौसमविद्को आग्रह छ । धान खेतमै भिजेर नष्ट हुनबाट बचाउन किसानलाई ११ गतेभित्रै धान काटेर सुरक्षित ठाउँमा थन्क्याउन उनीहरूको सुझाव छ । साथै आउँदो १२ देखि १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रामा जाने योजना बनाएका पर्यटकहरूलाई यात्रा स्थगित गर्न वा सुरक्षित ठाउँमा रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्