काठमाडौँ – चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा जमिनमा प्रवेश गरेको छ । मंगलबारसम्म बंगालको खाडीको समुद्री सतहमा रहेको चक्रवात बुधबार बिहानदेखि स्थल प्रवेश प्रक्रिया सुरू भएको हो । भारतको मौसम विज्ञान विभागका अनुसार चक्रवातको स्थल प्रवेश प्रक्रिया बापट्ला र विशाखापट्टनमको बीचमा यानमको दक्षिणतर्फ भइरहेको छ । बुधबार बिहानदेखि सुरु भएको स्थल प्रवेश प्रक्रियाका क्रममा भारतका विभिन्न ठाउँमा भारी वर्षा र तीव्र हावाहुरी चलेको छ भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
चक्रवातको केन्द्रमा हावाको गति प्रतिघन्टा १२५ देखि १३५ किलोमिटर छ। हावाको झोक्का प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको भनेर एएनआईले लेखेको छ । चक्रवातको प्रभावले आन्ध्र प्रदेशको काकिनाडामा रूखहरू ढलेका छन् भने विद्युतका तारहरू चुँडिएका छन्। विशाखापट्टनममा सडक अवरुद्ध भएका छन्। तटीय क्षेत्रमा समुद्रको पानी बस्तीमा पस्न सक्ने चेतावनीसमेत जारी गरिएको छ । भारतमा चक्रवातको प्रभाव देखिइरहँदा नेपालमा पनि यसको बाहिरी क्षेत्रका बादल फैलिन थालेका छन् । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौंसहित देशका विभिन्न भागमा उच्च बादल देखिन थालेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलका अनुसार अर्नब जमिनमा प्रवेश गरेपछि क्रमशः कमजोर हुँदै जानेछ । नेपालसम्म आइपुग्दा यो समुद्री चक्रवातकै तीव्रतामा रहने सम्भावना छैन। तर चक्रवातले ल्याउने ओसिलो हावा र पश्चिमी वायुसँग सम्बन्धित माथिल्लो तहको न्यूनचापीय रेखाबीच अन्तरक्रिया हुँदा नेपालमा भारी वर्षा हुन सक्ने उनी बताउँछन् । पोखरेलले लुम्बिनी र गण्डकीदेखि कोशीसम्मका धेरै जिल्लामा भारी वर्षाको सम्भावना रहेको बताएका छन्।
विशेषगरी बिहीबार साँझदेखि शनिबार बिहानसम्मको करिब ३६ घण्टा बढी सतर्क रहनुपर्ने उनी बताउँछन् । विभागले हिमाली क्षेत्रमा जारी गरेको रेड अलर्ट कायमै राखेको छ । मौसमविद महर्जनका अनुसार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा भने पूर्वानुमानमा केही घटबढ देखिएको छ । चक्रवात नेपालनजिक आएपछि यसको प्रभावबारे थप स्पष्ट आकलन गर्न सकिने उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस्