Skip to content

आज देशभर वर्षाको सम्भावना, कोशी र बागमतीमा भारी वर्षा हुन सक्ने

काठमाडौं – बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसमविद्का अनुसार आज दिनभर हल्कादेखि मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ। शुक्रबार कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको थियो भने काठमाडौं उपत्यकामा पनि छिटफुट पानी परेको थियो। तर आज वर्षाको मात्रा बढ्नुका साथै प्रभाव थप क्षेत्रमा फैलिने सम्भावना रहेको मौसमविद्को भनाइ छ।

मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले चक्रवात ‘अर्नब’ कमजोर भइसके पनि त्यसको प्रभावले नेपालमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना कायम रहेको बताएकी छन्। उनले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेकी छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि रातिसम्म कोशी र बागमती प्रदेशका धेरै स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। शनिबारदेखि भने चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ। यस प्रणालीको प्रभाव रहँदासम्म उच्च हिमाली क्षेत्रमा हिमपात तथा तराई र पहाडी भूभागमा वर्षा हुने भएकाले सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

उच्च सतर्कतामा सुरक्षा निकाय

चक्रवात ‘अर्नब’को प्रभाव हिमालदेखि तराईसम्म पर्ने सम्भावना रहेकाले सरकारले सुरक्षा निकायलाई उच्च सतर्कतामा राखेको छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम हुन सक्ने भन्दै थप सावधानी अपनाउन भनिएको छ।

विपद् प्रतिकार्य कमाण्ड पोष्टको बिहीबार बसेको बैठकले जोखिमयुक्त जिल्लाको अवस्थाबारे निरन्तर जानकारी लिन, सर्वसाधारणलाई समयमै सूचित गर्न तथा आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। सम्भावित विपद्को अवस्थामा तत्काल परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहनसमेत भनिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सूचना जारी गर्दै हावाहुरी, चट्याङ, हिमआँधी र भारी वर्षाको सम्भावना रहेकाले देशभरका हिमाली तथा उच्च पहाडी क्षेत्रमा पर्वतारोहण र पदयात्रा नगर्न आग्रह गरेको छ। पदयात्रामा गइसकेकालाई सुरक्षित स्थानमा बस्न तथा किसानलाई कात्तिक १४ गतेसम्म धान नकाट्न सुझाव दिइएको छ।

कात्तिक १४ गतेसम्म वर्षा र हिमपातको सम्भावना

मौसम विज्ञान विभागका अनुसार चक्रवात ‘अर्नब’ बुधबार बिहान करिब ८ः१५ बजे भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। त्यसपछि उत्तर–उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै क्रमशः कमजोर बनेको प्रणाली गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको हो। यही प्रणालीको प्रभावका कारण बिहीबारदेखि नेपालभर बादल लागेको थियो। विभागका वरिष्ठ मौसमविद्का अनुसार यस प्रणालीको प्रभावले कात्तिक १४ गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

वर्षा र हिमपातका कारण तापक्रम घट्दा चिसोसमेत बढेको छ। जोखिमयुक्त स्थान तथा सडक आसपास पहिरो जान सक्ने र सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी गर्न विभागले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। यातायात व्यवसायीलाई सम्बन्धित जिल्लाका प्रहरी तथा प्रशासनसँग समन्वय गरेर मात्रै सवारीसाधन सञ्चालन गर्ने वा नगर्ने निर्णय लिनसमेत सुझाव दिइएको छ।

प्रतिक्रिया दिनुहोस्