काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको समानान्तर १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। समूहले महाधिवेशनका लागि खुलामञ्चसहित राष्ट्रिय सभागृह र भृकुटीमण्डपको बगैँचा बुक गरेको छ। महाधिवेशनका लागि काठमाडौं महानगरपालिकासँग राष्ट्रिय सभागृह र भृकुटीमण्डपसमेत माग गर्दै पत्राचार गरिएको महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। तिवारीका अनुसार महाधिवेशनस्थल उपलब्ध गराउन माग गर्दै लेखिएको पत्र लिएर सम्पर्क कार्यालय चुनदेवीका कर्मचारी अमृत कार्की बिहीबार महानगरपालिका कार्यालय पुगेका थिए। महानगरपालिकाले महाधिवेशनका लागि अनुमति दिएको समूहको निर्वाचन समितिका संयोजक अधिवक्ता एगराज पोखरेलले जानकारी दिए। समूहले तय गरेको कार्यतालिकाअनुसार महाधिवेशनको उद्घाटन र बन्दसत्र खुलामञ्चमा हुनेछ भने नयाँ नेतृत्व चयनका लागि मतदान राष्ट्रिय सभागृहमा गरिनेछ। त्यस्तै, महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको खानाका लागि भृकुटीमण्डपको बगैँचा प्रयोग गरिने नेता डा. प्रकाशशरण महतले बताए। यसअघि कांग्रेस संस्थापन पक्षले पनि १५औँ महाधिवेशन खुलामञ्चमै आयोजना गरेको थियो। उक्त महाधिवेशनको निर्वाचन राष्ट्रिय सभागृहमा गरिएको थियो भने खानाका लागि भृकुटीमण्डप प्रयोग गरिएको थियो। देउवा समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म तीन दिन महाधिवेशन गर्ने मिति तय गरेको छ। अहिले समूहले प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गरिरहेको छ।
उक्त महाधिवेशनमा ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने समूहका नेताहरूको दाबी छ।


प्रतिक्रिया दिनुहोस्