उनका अनुसार प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको वा कारबाही गर्न लागेको भन्ने भ्रामक सूचना कसरी सार्वजनिक भयो भन्ने विषयमा प्रहरीले तथ्य बुझ्न खोजेको हो । ‘प्रहरीको आन्तरिक कतिपय सूचना चुहावट भएको भनी उदाहरणका लागि प्रधानमन्त्रीले आईजीपीको राजीनामा माग्यो वा कारबाही गर्न लाग्यो भन्ने हुँदै नभएको भ्रामक सूचना कहाँबाट आयो, त्यसको तथ्यजाँच नगरी कसरी भयो भनेर प्रहरीले जाँचबुझ गर्नका लागि मात्रै कसैसँग सल्लाह गरेको भन्ने प्रहरीको आन्तरिक कुरा मात्रै हो,’ उनले भने ।
प्रवक्ता पोखरेलले समाचार कक्षमा प्रहरी प्रवेश गर्ने कार्य सरकारको पूर्ण अनुमति लिएर नभएको पनि स्पष्ट पारे । उक्त घटनाबारे सरकार वा प्रधानमन्त्रीलाई पूर्वजानकारी नभएको उनको भनाइ थियो ।
‘सरकारसँग पूर्ण अनुमति लिएर वा के गरेर गरेको होइन । त्यसमा सरकार वा प्रधानमन्त्रीज्यूलाई केही थाहा थिएन । प्रहरीले आफ्नो आन्तरिक सूचना चुहावट भएको भएर सोधपुछका लागि गरेको हो,’ उनले भने । उनले घटनाबारे जानकारी पाएलगत्तै प्रधानमन्त्रीले पत्रकारलाई सोधपुछका नाममा हिरासतमा नराख्न निर्देशन दिएको पनि बताए । ‘कसैलाई गिरफ्तार गरेको वा नियन्त्रणमा लिएको भने होइन,’ प्रवक्ता पोखरेलले स्पष्ट पारे ।
सरकारले घटनालाई प्रहरीको आन्तरिक अनुसन्धानका रूपमा व्याख्या गरे पनि समाचार कक्षभित्रै प्रहरी प्रवेश गरी पत्रकारसँग सोधपुछ गरिएको विषयले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षासम्बन्धी प्रश्न उठाएको छ ।


प्रतिक्रिया दिनुहोस्