काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री कार्यालय यातना गृहजस्तो भइरहेको अनुभूति हुन थालेको टिप्पणी गरेका छन् ।
मंगलबार सभामुख डोलप्रसाद अर्याललाई भेटेर तत्काल संसद् बैठक आह्वान गर्न आग्रह गरेपछि पत्रकारहरूसँग कुरा गर्दै आङ्देम्बेले प्रधानमन्त्री कार्यालयमा कर्मचारीमाथि भइरहेको व्यवहारप्रति प्रश्न उठाएका हुन् । उनले मुलुकमा विचौलियाको बिगबिगी र सर्वत्र आतंकको अवस्था सिर्जना भएको टिप्पणी गर्दै कर्मचारीलाई कार्यस्थलबाटै नियन्त्रणमा लिने घटनाले प्रधानमन्त्री कार्यालयप्रति समेत नकारात्मक धारणा बन्न थालेको बताए । ‘विचौलियाको बिगबिगी भइरहेको छ, सर्वत्र आतंक छ । कर्मचारीहरूलाई कार्यस्थलबाट ल्याएर, प्रधानमन्त्री कार्यालय त झन् यातना गृहजस्तो भएको अनुभूति सबैले गर्न लागिराखेको बेलामा यो सबैको निकास संसद् बैठकबाटै खोज्नुपर्छ,’ उनले भने ।
सुनसरी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्कासम्बन्धी विषयमा दुई कर्मचारीलाई नियन्त्रणमा लिइएको घटनातर्फ संकेत गर्दै आङ्देम्बेले यस्तो टिप्पणी गरेका हुन् । उनले न्यायालयलगायतका विषयमा समेत गम्भीर प्रश्न उठिरहेको भन्दै संसद् बैठक तत्काल बोलाउनुपर्नेमा जोड दिए । लामो समयसम्म संसद् बैठक आह्वान नगर्ने र बैठकलाई निरन्तर पछाडि धकेल्दै जाने प्रवृत्तिले मुलुकका समस्याको समाधान नदिने उनको भनाइ थियो । आङ्देम्बेले अहिले देखिएका राजनीतिक, प्रशासनिक तथा अन्य गम्भीर विषयको निकास संसद्को छलफल र प्रक्रियाबाट खोज्नुपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्