चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद तथा नेता–कार्यकर्तालाई शक्ति र पदको दम्भ नदेखाउन चेतावनी दिएका छन् । जनताले दिएको अभिमतलाई जनताकै अपमान गर्ने गरी प्रयोग नगर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शुक्रबार चितवनमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै लामिछानेले पार्टी शक्तिमा पुगेपछि केही नेता–कार्यकर्तामा दम्भ बढ्न सक्ने भन्दै त्यसप्रति सचेत गराएका हुन् । उनले पार्टी ठूलो भएको, प्रहरी र प्रमुख जिल्ला अधिकारी आफ्नो हातमा रहेको जस्ता सोच राखेर जनतालाई दुःख दिने वा तल्लो तहका कार्यकर्तालाई हेप्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे । पार्टीले नेता–कार्यकर्ताका अभिव्यक्ति र गतिविधिलाई नजिकबाट नियालिरहेको उनको भनाइ थियो ।
लामिछानेले शक्ति जति ठूलो हुन्छ, जिम्मेवारी पनि त्यति नै बढी महसुस गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र सांसद बनेका नेता र सँगै संघर्ष गरेका अन्य कार्यकर्ताबीच मनोवैज्ञानिक दूरी बढ्न थालेको विषयमा पनि उनले चिन्ता व्यक्त गरे । सांसद बनेपछि पुराना सहयात्री र तल्लो तहका कार्यकर्तालाई बेवास्ता गर्ने तथा पद नपाएकाहरूले सांसद बनेका साथीप्रति ईर्ष्या गर्ने प्रवृत्ति गलत भएको उनले बताए ।
सँगै संघर्ष गरेको साथीले पद र जिम्मेवारी पाउँदैमा ईर्ष्या गर्न नहुने र आज जिम्मेवारी पाएको साथीको स्थानमा भोलि आफू पनि पुग्न सक्ने भएकाले पार्टीभित्र एकता कायम राख्नुपर्ने उनको भनाइ थियो । यसैगरी, आसन्न निर्वाचनलाई लक्षित गर्दै लामिछानेले पार्टीका कार्यकर्तामा स्थानीय तहका पदभन्दा माथिल्लो पदप्रति बढी आकर्षण देखिएको भन्दै असन्तुष्टि जनाए । वडाध्यक्षदेखि स्थानीय तहका जिम्मेवारीमा उम्मेदवार बन्नभन्दा सबैको ध्यान सभापति, पालिका र माथिल्लो पदमा केन्द्रित भएको उनको टिप्पणी थियो । स्थानीय तहबाटै नेतृत्व विकास गर्नुपर्नेमा जोड दिँदै उनले आफूले नै राजीनामा दिएर वडाध्यक्षको चुनाव लड्न आउनुपर्ने अवस्था आउने हो कि भन्दै व्यङ्ग्यसमेत गरे ।
लामिछानेले पार्टीभित्र पदको आकाङ्क्षाभन्दा संगठनप्रतिको जिम्मेवारी, आपसी सम्मान र जनताप्रतिको उत्तरदायित्वलाई प्राथमिकता दिन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्