बाजुरा – दसैँ–तिहारमा चहलपहलले भरिएका बाजुराका गाउँबस्ती चाडपर्व सकिएसँगै पुनः सुनसान बन्न थालेका छन्। चाडपर्व मनाउन घर फर्किएका परदेशीहरू आफ्नो कर्मथलोमा फर्किन थालेपछि गाउँबस्ती रित्तिन थालेका हुन्। दसैँ मनाउन गत असोजमा गाउँ आएका बुढीनन्दाका स्थानीय गोपाल रोकाया चाडपर्व सकिएसँगै रोजगारीको खोजीमा पुनः भारत जान लाग्नुभएको छ। उहाँले हरेक वर्ष चाडपर्वका बेला घर आउने र पर्व सकिएपछि कामको खोजीमा भारत जाने गरेको बताउनुभयो। “म जहिले पनि यस्तै चाडपर्वको समयमा गाउँ आउने र चाडपर्व सकिएसँगै कामको खोजीमा परदेश जाने गर्छु,” उहाँले भन्नुभयो। रोकायाका अनुसार उहाँ मात्र नभई गाउँका अन्य दाजुभाइ पनि चाडपर्वका बेला घर आउने र पर्व सकिएपछि रोजगारीका लागि भारत जाने गरेका छन्। यस्तै, दसैँ–तिहार सकिएसँगै बालबालिका पनि अध्ययनका लागि धनगढी, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँलगायतका सहर जान थालेका छन्।
अभिभावक रोजगारीको खोजीमा भारत जाने र छोराछोरी पढाइका लागि सहर पस्ने क्रम बढेपछि गाउँमा वृद्धवृद्धा मात्रै रहने अवस्था सिर्जना भएको स्थानीय बताउँछन्। चाडपर्वका बेला भरिभराउ हुने गाउँबस्ती केही दिनमै पुनः सुनसान बन्ने गरेका छन्। बेरोजगारीका कारण युवा गाउँ छाडेर बाहिरिन थालेपछि स्थानीय जमिनसमेत बाँझो हुँदै गएको छ। पहिले पुरुषहरू मात्रै रोजगारीका लागि परदेश जाने गरेकामा पछिल्लो समय महिलासमेत बाहिरिन थालेपछि खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेको स्थानीयको भनाइ छ। गाउँबस्तीमा सडक, खानेपानी, शिक्षा तथा प्राविधिक शिक्षाको पहुँच विस्तार भए पनि युवाको विदेश तथा भारत पलायन रोकिएको छैन। स्थानीय सरकारले दुर्गम बस्तीमा सडक पुर्याउनुका साथै घरघरमा खानेपानीको सुविधा विस्तार गरेका छन्। बालबालिकालाई गाउँमै अध्ययन गर्ने वातावरण बनाउन क्याम्पस तथा प्राविधिक विद्यालयसमेत स्थापना गरिएका छन्। कृषि व्यवसायलाई प्रोत्साहन गर्न स्थानीय तहले विभिन्न कृषि तालिमसमेत सञ्चालन गर्दै आएका छन्। तर, तालिम र पूर्वाधार विस्तारले मात्रै युवालाई गाउँमै रोक्न नसकेको स्थानीयको अनुभव छ।
त्रिवेणी नगरपालिकाका स्थानीय पदम बुढाले युवालाई गाउँमै रोजगारीको अवसर सिर्जना गर्न स्थानीय सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनुभयो। “तालिम प्राप्त गरेर मात्र केही हुँदैन। त्यसलाई प्रयोगमा ल्याउनका लागि स्थानीय सरकारले युवाहरूका लागि विभिन्न अनुदानका कार्यक्रमसमेत ल्याउनुपर्छ,” उहाँले भन्नुभयो। युवाले तालिमबाट सिकेको सीपअनुसार व्यवसाय सञ्चालन गर्न आवश्यक पुँजी र अनुदानको व्यवस्था भए मात्रै गाउँमै स्वरोजगार बन्न सहज हुने उहाँको भनाइ छ। तिहार सकिएसँगै बाजुराबाट बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य रूपमा बढेको बाम्का बजारका टिकट काउन्टर इन्चार्ज जनक बुढाले बताउनुभयो। “यतिबेला बाजुराबाट दैनिक आठ सयभन्दा बढी युवा बाहिरिने गरेका छन्,” उहाँले भन्नुभयो।
उहाँका अनुसार कोल्टी, मार्तडी, बल्दे, बाम्का बजार, बेतालमाण्डौँ र डाबबजारलगायतका स्थानबाट दैनिक एक दर्जनभन्दा बढी बस यात्रुले खचाखच भरिएर छुट्ने गरेका छन्। त्यसैगरी, कर्णाली करिडोरअन्तर्गत पीलिचौरबाट पनि दैनिक सातवटा गाडीमा करिब दुई सय जना बाजुरावासी बाहिरिने गरेको सुर्खेत–बुलबुले–पीलिचौर काउन्टरका इन्चार्ज भुवन शाहीले बताउनुभयो। यता, युवालाई गाउँमै रोजगारी दिन ठूलो रकम आवश्यक पर्ने तर पर्याप्त बजेट अभावका कारण स्थानीय तहलाई समस्या भइरहेको जनाइएको छ। सीमित स्रोतसाधनका कारण गाउँमै रोजगारी सिर्जना गर्न कठिनाइ भइरहेको स्थानीय तहको भनाइ छ। रोजगारीको अभावमा युवाशक्ति बाहिरिने क्रम बढ्दै जाँदा गाउँमा जनशक्तिको कमी, खेतीयोग्य जमिन बाँझो रहने समस्या र सामाजिक संरचनामा समेत असर पर्न थालेको छ। युवालाई गाउँमै रोक्न सीपमूलक तालिमसँगै सहुलियतपूर्ण ऋण, अनुदान र उत्पादनमा आधारित रोजगारीका कार्यक्रम आवश्यक देखिएका छन्।




प्रतिक्रिया दिनुहोस्