काठमाडौं – राष्ट्रिय सभागृहमा आइतबार एकता घोषणा समारोह सम्पन्न गरेपछि प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले पार्टी नेतृत्व संरचनामा महत्वपूर्ण निर्णय गर्दै पाँच सदस्यीय अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ।
नवगठित प्रलोपालाई सुदृढ नेतृत्व दिन पाँच जनाको अध्यक्ष मण्डल रहनेछ, जसमा–
- दुर्गा सोव (साविक नेसपा–नयाँ शक्ति संयोजक)
- सुदन किराँती (प्रगतिशील राष्ट्रिय अभियान समन्वयकर्ता)
- सन्तोष परियार (रास्वपाबाट विद्रोह गरी प्रलोपामा प्रवेश)
- अशोक जैसवाल (पूर्व माओवादी नेता)
- ओजस्वी भट्टराई (जेन-जी नेतामध्ये एक)
समावेश छन्।
तर, यी पाँच जनामध्ये कसले अध्यक्षको नेतृत्व लिन्छ भन्नेबारे अहिले निर्णय नभएको प्रलोपा नेता अनिल शर्माले स्पष्ट पारे। उनका अनुसार, केन्द्रीय समितिको पूर्ण संरचना बनेपछि मात्र नेतृत्व गर्ने विधि, पालो–पालो नेतृत्व परिवर्तनको अवधि तथा दायित्व बाँडफाँडबारे औपचारिक निर्णय हुनेछ। शर्माका अनुसार प्रलोपा १५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने तयारीमा छ। नयाँ एकीकृत पार्टीले आजको निर्णयलाई *एकता प्रक्रियाको “आधारभूत संरचना निर्माण”*का रूपमा लिएको र आगामी दिनमा विस्तृत कार्यविधि सार्वजनिक गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्