Skip to content

आज गणतन्त्र दिवस : टुँडीखेलमा विशेष समारोह, प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

काठमाडौं – आज १८औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ । जननिर्वाचित पहिलो संविधानसभाले २०६५ जेठ १५ गते २४० वर्षे निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष गणतन्त्र दिवस मनाइने गरिएको हो । गणतन्त्र दिवसको अवसरमा आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना हुँदैछ । समारोह बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ । कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ सरकारी अधिकारी, राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ । समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसअघि आज बिहानै नेपाली सेनाले गणतन्त्र दिवसको स्वागतमा तोप पड्काएको थियो । यस वर्षको समारोहमा प्रधानमन्त्री बालेन शाहले सम्बोधन नगर्ने भएका छन् । अघिल्ला वर्षहरूमा राष्ट्रपतिसँगै प्रधानमन्त्रीले पनि सम्बोधन गर्ने परम्परा रहेकामा यसपटक प्रधानमन्त्रीले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई नै सम्बोधन गर्न आग्रह गर्दै शीतल निवासमा पत्र पठाएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी समारोहमा सहभागी भने हुनेछन् । नेपालमा गणतन्त्र स्थापना हुनुअघि २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नै हातमा लिएपछि राजनीतिक आन्दोलन चर्किएको थियो । त्यसपछि आन्दोलनरत सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीबीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

२०६२ फागुनदेखि सुरु भएको जनआन्दोलन चैतमा पुग्दा थप सशक्त बनेको थियो । लाखौँ जनता सडकमा उत्रिएपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटन गरिएको संसद् पुनःस्थापना गर्न बाध्य भएका थिए । पुनर्स्थापित संसद्ले २०६३ जेठ ४ गते राजसंस्थाको अधिकार कटौती गर्दै राजतन्त्रलाई निलम्बन गर्‍यो । साथै माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरिएको थियो, जसलाई नेपाली ‘म्याग्नाकार्टा’का रूपमा पनि चिनिन्छ । यसैको आधारमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते २४० वर्षे राजसंस्थाको औपचारिक अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि त्यसले संघीयता, समावेशिता र लोकतान्त्रिक व्यवस्थाको आधार निर्माण गरेको थियो । त्यसपछि २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भयो र सोही सभाले २०७२ असोज ३ गते नेपालको नयाँ संविधान जारी गर्‍यो । संविधान जारी भएपछि संघीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन सम्पन्न भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ ।

संविधानसभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । त्यसपछि विद्यादेवी भण्डारी दोस्रो राष्ट्रपति तथा नयाँ संविधानपछिको पहिलो महिला राष्ट्राध्यक्ष बनेकी थिइन् । हाल रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपतिका रूपमा कार्यरत छन् । गणतन्त्र स्थापना हुनुअघि नेपालमा राजतन्त्रात्मक शासन व्यवस्था रहेको थियो र राजा नै राष्ट्रप्रमुख हुने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्