Skip to content

स्थानीय तहमा १०० महिला प्रमुख उम्मेदवार बनाउने तयारीमा कांग्रेस

काठमाडौं – नेपाली कांग्रेसले आगामी स्थानीय तह निर्वाचनमा कम्तीमा १०० स्थानीय तहमा महिला प्रमुख उम्मेदवार उठाउने तयारी गरेको छ  । नेपाल थारु संघको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै कांग्रेस सभापति  गगन थापाले महिलाको राजनीतिक प्रतिनिधित्व बढाउन पार्टीले विशेष योजना अघि सारेको बताएका हुन् । उनका अनुसार ७५३ स्थानीय तहमध्ये कम्तीमा १०० पालिकामा मेयर वा अध्यक्ष पदमा महिला उम्मेदवार उठाउने लक्ष्यसहित पार्टीले अहिलेबाटै तयारी सुरु गर्नेछ ।

उम्मेदवार छनोट र व्यवस्थापनलाई व्यवस्थित बनाउन कांग्रेसले निर्वाचन ब्यूरो गठन गरेको र नेतृत्व विकासका लागि ‘लीडरशिप एकेडेमी’ स्थापना गरिएको पनि उनले जानकारी दिए। स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहने नयाँ तथा पुनः उम्मेदवारहरूले उक्त एकेडेमीमा भर्ना भई निर्धारित पाठ्यक्रम पूरा गर्नुपर्ने व्यवस्था गरिने उनले बताए । महिला नेतृत्व विकासका लागि बढीभन्दा बढी महिलालाई लिडरशिप एकेडेमीमा सहभागी गराउन आवश्यक रहेको उनको भनाइ थियो। साथै सम्भावित उम्मेदवारको खोजी, प्रोत्साहन र प्रशिक्षणका काममा नेपाल थारु संघसहित पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई सक्रिय भूमिका खेल्न उनले आग्रह गरे । सभापति थापाले योग्य व्यक्तिहरूलाई निर्वाचन ब्यूरो र लिडरशिप एकेडेमीसँग जोडेर नेतृत्व विकासमा सहयोग गर्न सबै संगठन लाग्नुपर्ने बताए । कार्यक्रममा उनले अधिवेशन सम्पन्न हुन बाँकी रहेका भ्रातृ संस्थाहरूको नेतृत्व पनि छिट्टै चयन हुने जानकारी दिए । विशेषगरी  नेपाल विद्यार्थी स‌ंघ सहित नेतृत्व रिक्त रहेका संगठनहरूको नेतृत्व एक–दुई दिनभित्र टुंगो लगाइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्