काठमाडौं – प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीहरूको समस्या समाधानका लागि सरकारले काम गरिरहेको भन्दै उचित व्यवस्थापन गरिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको बसोबासको दीर्घकालीन व्यवस्थापन गरिने बताएका हुन् । उनले आफू स्थानीय सरकारमा रहँदादेखि नै संघीय सरकारलाई सुकुमवासीलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारेर होल्डिङ सेन्टरमा राख्न तथा वास्तविक भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउन सुझाव दिएको स्मरण गराए ।
“उहाँहरूलाई त्यहाँबाट स्थानान्तरण गरेर होल्डिङ सेन्टरमा राख्ने र जो वास्तविक सुकुमवासी हुनुहुन्छ, जसको देशभरि कतै पनि जग्गा छैन, उहाँहरूलाई सरकारले जग्गाको व्यवस्था गर्नुपर्छ भन्ने मेरो धारणा थियो,” प्रधानमन्त्री शाहले भने । सुकुमवासी व्यवस्थापनको काम तत्कालै सम्पन्न नहुने उल्लेख गर्दै उनले दशकौंदेखि समाधान हुन नसकेको समस्या छोटो समयमै समाधानको अपेक्षा नगर्न आग्रह गरे। “३५ वर्षमा नभएको काम ३५ मिनेटमै खोज्न हुँदैन। यसका लागि केही समय लाग्छ,” उनले भने । प्रधानमन्त्री शाहले काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा बसोबास गरिरहेका नागरिकहरू बाढी, डुबान र स्वास्थ्य जोखिममा परेकाले तत्काल स्थानान्तरणको कदम चालिएको स्पष्ट पारे। उनका अनुसार ती क्षेत्रमा फोहोर, दुर्गन्ध र कमजोर सरसफाइका कारण स्थानीयवासीको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको थियो । यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि चालु आर्थिक वर्षभित्र सुकुमवासी व्यवस्थापनका लागि ठोस प्रगति हुने बताएका छन्। सरकारले भूमिसम्बन्धी समिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको जानकारी दिँदै प्रधानमन्त्री शाहले वास्तविक सुकुमवासीको पहिचान र जग्गा व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयले काम गरिरहेको बताए ।





प्रतिक्रिया दिनुहोस्