काठमाडौं – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सोमबार भारत भ्रमणमा जाने भएको छ। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीन को निमन्त्रणामा हुन लागेको भ्रमणबारे भाजपाले आइतबार विज्ञप्तिमार्फत औपचारिक जानकारी सार्वजनिक गरेको हो । भाजपाले जारी गरेको विज्ञप्तिअनुसार रास्वपा प्रतिनिधिमण्डलले नयाँदिल्लीमा भाजपा अध्यक्ष नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा दुई दलबीचको सम्बन्ध सुदृढ गर्ने, संगठनात्मक अनुभव आदानप्रदान गर्ने तथा लोकतान्त्रिक अभ्यास र जनमुखी राजनीतिक पहुँचका विषयमा छलफल हुने जनाइएको छ ।
पार्टी स्रोतका अनुसार सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा पनि भारत जानेछन्। यद्यपि रास्वपाले भ्रमणबारे अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक जानकारी दिएको छैन । स्रोतका अनुसार भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायत उच्चस्तरीय नेताहरूसँग भेटवार्ताको सम्भावना रहेको छ। यद्यपि ती भेटघाटको समयतालिका भने अझै तय भइसकेको छैन। नेपाल–भारत सम्बन्धका विषयमा विभिन्न चर्चा भइरहेका बेला हुन लागेको यो भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। भारतीय विदेश सचिव विक्रम मिश्री को नेपाल भ्रमण रद्द हुनु तथा नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण टुंगो नलागेको अवस्थामा सत्तारूढ दलको भारत भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ । यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि प्रधानमन्त्री मोदीले फोनमार्फत सभापति लामिछानेलाई बधाई दिएका थिए। त्यही क्रममा भारत भ्रमणबारे प्रारम्भिक छलफल भएको स्रोतको दाबी छ । भाजपाको वैदेशिक मामिला विभाग प्रमुख डा. विजय चौथाइवाले ले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच पार्टी-टू-पार्टी सहकार्यको आधार तयार गर्नु तथा आपसी समझदारी र संवादलाई थप विस्तार गर्नु रहेको छ। भाजपाले भ्रमणबाट दुवै पक्षबीच रचनात्मक र फलदायी संवाद हुने विश्वास व्यक्त गरेको छ ।





प्रतिक्रिया दिनुहोस्