Skip to content

सभामुख अर्यालविरुद्ध सूर्य थापाको टिप्पणी, सामाजिक सञ्जालमा विवाद

काठमाडौं – नेकपा (एमाले) का नेता तथा पूर्वसांसद सूर्य थापा ले सभामुख डोलप्रसाद अर्याल विरुद्ध सामाजिक सञ्जालमार्फत कडा टिप्पणी गरेका छन्  । प्रतिनिधिसभामा विपक्षी दलहरूको विरोधका बीच प्रतिनिधिसभा सञ्चालन नियमावली पारित भएपछि थापाले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्  । थापाले आफ्नो पोस्टमा सभामुखको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै त्यसलाई “कुटाइ खाने खालको” भन्दै टिप्पणी गरेका छन्। साथै, उनले यस्तो अवस्था आउने दिन धेरै टाढा नरहेको उल्लेख गरेका छन् । थापाको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्। कतिपयले यसलाई सभामुखजस्तो संवैधानिक पदप्रति अस्वीकार्य र हिंसात्मक अभिव्यक्ति भएको बताएका छन् भने केहीले संसदमा विकसित घटनाक्रमप्रतिको राजनीतिक असन्तुष्टिका रूपमा व्याख्या गरेका छन् । यस विषयमा सभामुखको सचिवालय वा सम्बन्धित निकायबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । प्रतिनिधिसभा सञ्चालन नियमावली पारित गर्ने विषयलाई लिएर संसदमा सत्ता पक्ष र विपक्षी दलबीच विवाद भइरहेको छ। विपक्षी दलहरूले नियमावली पारित गर्ने प्रक्रियामाथि प्रश्न उठाउँदै विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्