काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले संविधान र कानुनअनुसार अघि बढाउने सबै प्रयासमा कांग्रेसको पूर्ण सहयोग रहने बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित ‘ग्रीन टेबल’ कार्यक्रममा बोल्दै उनले सुशासनको माग गर्दै युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनको स्मरण गर्दै सुशासन स्थापनाका लागि चालिने सबै वैधानिक कदममा कांग्रेसको शतप्रतिशत साथ रहने स्पष्ट पारे ।
थापाले वर्तमान सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरेको उल्लेख गर्दै आफूसहित कांग्रेसका सबै सदस्यहरूले आफ्नो सम्पत्ति विवरण बुझाउने जानकारी दिए । केही पूर्वन्यायाधीश तथा विभिन्न राजनीतिक दलका नेताहरूले सम्पत्ति विवरण नबुझाउने अभिव्यक्ति दिएको प्रसंगमा भने कांग्रेसले कुनै टिप्पणी नगर्ने उनले बताए । उनले आयोगले सम्पत्ति छानबिनको प्रक्रिया निष्पक्ष, पारदर्शी र निरन्तर रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै आयोगको कामकारबाहीको स्वच्छता, विश्वसनीयता र पारदर्शितामाथि कुनै प्रश्न उठ्न नहुने बताए । सभापति थापाले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा कांग्रेस सधैँ उभिने उल्लेख गर्दै कानुनी तथा संवैधानिक व्यवस्थाअनुसार अघि बढाइने सुधारका कार्यक्रमहरूमा पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।





प्रतिक्रिया दिनुहोस्