Skip to content

भारत भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनाल, व्यापार–ऊर्जा सहकार्यमा केन्द्रित हुने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि शुक्रबार भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा खनाल भारत भ्रमणमा गएका हुन् । नयाँ दिल्ली प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएपछिको यो पहिलो उच्चस्तरीय भ्रमण भएको र नेपालको प्राथमिकताका विषयमा केन्द्रित रहेर भारतीय पक्षसँग छलफल हुने बताए ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमण आदानप्रदानको सिलसिलाअन्तर्गत यो भ्रमण आयोजना गरिएको हो। मन्त्रालयले यस भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल हुने जनाइएको छ  । विशेषगरी व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा सहयोग तथा दुई देशका जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने विषय वार्ताको मुख्य एजेन्डा रहने मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार खनालले भ्रमणका क्रममा तय गरिएका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी जेठ २४ गते काठमाडौं फर्कनेछन् ।

प्रतिक्रिया दिनुहोस्