काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल नयाँ दिल्ली पुगेका छन् । आजबाट भारत भ्रमणमा रहेका मन्त्री खनाललाई विमानस्थलमा भारतीय विदेश मन्त्रालयका नर्थ डेस्क (नेपाल–भुटान) हेर्ने अतिरिक्त सचिव (प्रमुख) मनु महावरले स्वागत गरे । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल २२ देखि २४ जेठसम्म भारत भ्रमणमा गएका हुन् । उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै देशको प्राथमिकताबारे संवाद गर्ने बताएका ।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । उक्त बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विशेषगरी दुई देशबीचको व्यापार, लगानी, कनेक्टिभिटी (सम्पर्क सञ्जाल), ऊर्जा क्षेत्र र जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची रहेको छ । नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको रूपमा हुन लागेको यस भ्रमणले नेपाल र भारतबीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ । भ्रमण तालिकाअनुसार परराष्ट्रमन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता फर्कने कार्यतालिका रहेको छ ।





प्रतिक्रिया दिनुहोस्