Skip to content

अर्थमन्त्री वाग्लेले भने– अघिल्ला सरकारहरूले थुपारेको सार्वजनिक ऋणको भार झण्डै ३० खर्ब छ

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घाटाको बजेट ल्याएको र सार्वजनिक ऋणमा भर परेको भन्ने सांसदहरूको आरोपको खण्डन गरेका छन् । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को तुलनामा विनियोजित बजेट त्यति ठूलो नभएको तर्क गर्दै अर्थमन्त्री वाग्लेले बजेट खर्चको स्रोत सार्वजनिक ऋणको लक्ष्यसमेत सापेक्ष रहेको तर्क गरे । बिहीबार संसदमा जारी बजेटमाथिको छलफलमा उठेका प्रश्न तथा जिज्ञाहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले अघिल्ला सरकारहरूकै पालमा लिएको ऋणको भार सरकारमाथि रहेको बताए । ‘सार्वजनिक ऋणको भार करिब ३० खर्ब पुगेको छ, यो अघिल्ला सरकारहरूले नै लिँदै तिर्दै, फेरि लिँदै गरेका हुन्, जुन भार सरकारमाथि छ,’ वाग्लेले भने ।

बजेट खर्चको स्रोत व्यवस्थापनमा सरकारले राजस्वबाट १४ खर्बको लक्ष्य राखिएकोमा धेरैले लक्ष्य अनपेक्षित भएको तर्क गरेको भन्दै अर्थमन्त्री वाग्लेले १५ खर्ब ८० अर्ब रुपैयाँ उठाउने आफ्नो लक्ष्य रहेको बताए । इमानदार र सक्षम सरकारले सो लक्ष्य पूरा गर्न सक्ने अर्थमन्त्री वाग्लेले दाबी गरे । अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनका लागि २ खर्ब ४७ अर्ब विदेशी ऋण लिने भनिएकोमा सोमध्ये ७२ अर्ब पुरानै ऋण भुक्तानीमा खर्च जाने बताए । तर, यो खर्च गर्ने क्षमतामा प्राप्त गर्न सकिने उनले बताए । आन्तरिकतर्फ आगामी वर्ष ४ खर्ब १० अर्ब ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा २ खर्ब ५७ अर्ब रुपैयाँ पुरानै ऋण तिर्न खर्च हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्