Skip to content

महालक्ष्मीमा महिलालाई आत्मनिर्भर बनाउने अभियान : सिद्धिपुरमा १५ दिने ‘एडभान्स ब्याग बनाउने तालिम’ सम्पन्न

ललितपुर – महिलाको सीप, स्वरोजगार र आर्थिक सशक्तीकरणलाई केन्द्रमा राख्दै ललितपुरको महालक्ष्मी नगरपालिका–६ सिद्धिपुरमा १५ दिने ‘एडभान्स ब्याग बनाउने तालिम’ सम्पन्न भएको छ । जेठ १४ गतेदेखि सुरु भएको तालिम आज समापन भएको हो। वडा नम्बर ६ को आर्थिक सहयोग तथा सत्य महिला जागरण नेपाल को प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिममा १७ जना महिलाको सहभागिता रहेको थियो । नगरपालिकाले विभिन्न वडामा सञ्चालन गरिरहेको सीप विकास कार्यक्रमअन्तर्गत आयोजना गरिएको उक्त तालिम महिलालाई घरमै बसेर आयआर्जन गर्न सक्ने बनाउने र व्यवसायिक क्षमता विकास गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख लक्ष्मी महर्जन ले महिलाको आर्थिक सशक्तीकरणलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताइन् । उनले भनिन्, “हरेक घरका महिलालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित नगरपालिकाले सीपमूलक कार्यक्रमलाई निरन्तरता दिएको छ । तालिम सिकेर मात्रै होइन, त्यसलाई व्यवहारमा उतारेर महिलाहरू आयआर्जनसँग जोडिनु आवश्यक छ।”

उपप्रमुख महर्जनले यस्ता कार्यक्रमले महिलालाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने, घरायसी जिम्मेवारीसँगै आर्थिक योगदान बढाउने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । तालिममा सहभागी महिलाहरूले सिकेको सीपलाई व्यवसायिक रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । स्थानीय तहबाट सञ्चालन भएका यस्ता कार्यक्रमले महिलामा उद्यमशीलता विकाससँगै आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महालक्ष्मी नगरपालिकाले सीप विकास र महिला सशक्तीकरणलाई जोड्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्