काठमाडौँ – देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमा चरम लापरबाही र अखाद्य वस्तु प्रयोग भइरहेको पाइएकाे छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त अनुगमन टोलीले शुक्रबार गरेको आकस्मिक निरीक्षणका क्रममा सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिन सञ्चालन गरिरहेको ‘जी एन्ड बी क्याफे ग्रुप’मा गम्भीर कैफियत फेला पारेको हो ।
अनुगमनका क्रममा क्यान्टिनमा खाद्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको, सरसफाइमा लापरबाही गरिएको तथा उपभोगका लागि अनुपयुक्त वस्तुहरू प्रयोग भएको पाइएको विभागले जनाएको छ । टोलीले खाद्य सामग्रीको भण्डारण, तयारी तथा वितरण प्रक्रियामा समेत विभिन्न कमजोरी भेटिएको जनाएको छ । अनुगमन क्रममा उक्त क्याफेले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी गुणस्तरहीन कच्चापदार्थ प्रयोग र भण्डारण गरेको पाइएको छ । अखाद्य र म्याद नाघेका वस्तु प्रयोग मार्फत उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) विपरीत कार्य गरेको ठहर गर्दै विभागले सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम क्याफेलाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरेको छ ।




प्रतिक्रिया दिनुहोस्