Skip to content

प्रधानमन्त्री बालेनले साझा गरे अपि हिमाल बेस क्याम्पको भिडियो, उच्च हिमाली क्षेत्रमा क्रिकेट खेलेको दृश्य चर्चामा

काठमाडौं । प्रधानमन्त्री  बालेन्द्र शाहा (बालेन) ले दार्चुलास्थित अपिहिमाल बेस क्याम्पको भिडियो सामाजिक सञ्जालमार्फत साझा गरेका छन् । शनिबार फेसबुकमार्फत सार्वजनिक गरिएको भिडियोमा अपि हिमाल बेस क्याम्पको उच्च हिमाली क्षेत्रमा क्रिकेट खेलिएको दृश्य देख्न सकिन्छ । उक्त भिडियो हिमालय भट्टले खिचेका हुन् ।

प्रधानमन्त्री शाहले पछिल्लो समय नेपालका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसारमा डिजिटल माध्यमको प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् । सोही सन्दर्भमा अपि हिमाल बेस क्याम्पको प्राकृतिक सौन्दर्य र साहसिक गतिविधिलाई प्रस्तुत गर्ने उद्देश्यले भिडियो साझा गरिएको बुझिएको छ । दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा अवस्थित अपि हिमाल सुदूरपश्चिम प्रदेशको प्रमुख हिमाली गन्तव्य मानिन्छ । सात हजार १३२ मिटर उचाइ रहेको अपि हिमाल विदेशी तथा स्वदेशी पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा परिचित छ । अपि नाम्पा संरक्षण क्षेत्रभित्र रहेको यस क्षेत्रमा छ हजार ७५७ मिटर उचाइको नाम्पा हिमाल, छ हजार ८५० मिटर उचाइको कापाचुली हिमाल, जेठबुहारी तथा व्यास हिमालसहितका हिमशृङ्खलाहरू रहेका छन् । प्राकृतिक जैविक विविधताका हिसाबले समेत समृद्ध मानिने संरक्षण क्षेत्रमा हिउँचितुवा, रेड पान्डा, मृग, घोरल, नाउर, कालो भालुलगायत वन्यजन्तु तथा डाँफे, मुनाल, चिर, चिलसहित दुई सयभन्दा बढी प्रजातिका चराहरू पाइन्छन् ।

प्रतिक्रिया दिनुहोस्