काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी र उपाध्यक्ष माधवी जोशीले यातायातको सुविधा हुँदाहुँदै थप यातायात भत्ता लिएको खुलेको छ । आर्थिक वर्ष २०८१ /८२ को महालेखाको प्रतिवेदन अनुसार स्थानीय तहमा सार्वजनिक खर्च व्यवस्थापनमाथि प्रश्न उठाउने गरी सवारी सुविधा उपलब्ध हुँदाहुँदै अध्यक्ष र उपाध्यक्षलाई थप यातायात सुविधा भुक्तानी गरिएको तथ्य सार्वजनिक भएको छ । प्रतिवेदनमा यसलाई नियमविपरीत दोहोरो सुविधा भन्दै रु. २ लाख २८ हजार असुल गर्नुपर्ने उल्लेख गरिएको छ ।
‘स्थानीय तहका पदाधिकारी तथा सेवासुविधा सम्बन्धी बनेको ऐन २०७५ को अनुसुची १ क क्रमश: १३ मा पालिकाले सवारी साधान उपलब्ध गराउन नसकेमा मासिक रु १० हजार को र उपाध्यक्षलाई मासिक रु ९ हजारको दरले यातायात खचृ दिन सकिने व्यवस्था छ । पालिकाले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई सवारी साधन उपलब्ध गराएकोमा थप मासिक सुविधा पनि भुक्तानी अध्यक्षलाई रु १ लाख २० हजार र उपाध्यक्षलाई रु १ लाख ८ हजार गरी जम्मा रु २ लाख २८ हजार भुक्तानी गरेको देखिएकोले यसरी दोहोरो भुक्तानी रकम असुल हुनुपर्ने’ महालेखाले भनेको छ ।
यही प्रतिवेदनमा इन्धन तथा मर्मतसम्भार खर्चमा पनि प्रक्रिया र अभिलेख व्यवस्थापनमा कमजोरी औँल्याइएको छ । सरकारी लेखा निर्देशिका, २०७३ अनुसार इन्धन प्रयोग, मर्मतसम्भार र सामग्री व्यवस्थापनसम्बन्धी स्पष्ट अभिलेख राख्नुपर्ने भए पनि सम्बन्धित कार्यालयले त्यसअनुसार काम नगरेको उल्लेख छ । प्रतिवेदनले सार्वजनिक स्रोतको उपयोग गर्दा कानुनी व्यवस्था र वित्तीय अनुशासनको पालना गर्नुपर्नेमा जोड दिँदै नियमविपरीत भुक्तानी भएको रकम असुल गरी जिम्मेवारी निर्धारण गर्नुपर्ने सुझाव दिएको छ । तर यस विषयमा हामीले गाउँपालिका अध्यक्ष रामदत्त जोशीसँग बुझ्दा पालिकाले सवारी उपलब्ध गराएपनि अध्यक्ष र उपाध्यक्षले मात्र नभइ त्यहि सवारी पालिकाका कर्मचारीहरुले पनि प्रयोग गर्ने गरेको बताए । ‘पालिकाका कर्मचारीहरुले पनि त्यहि गाडि प्रयोग गर्ने भएर सधै अध्यक्ष र उपाध्यक्षले मात्रै गाडी पनि प्रयोग गरेर यातायात भत्ता पनि लिएको नभइ आवश्यकता अनुसार लिएको हो’ अध्यक्ष जोशीले भने । पालिकाका अन्य कर्मचारीले पनि प्रयोग गर्ने र बेरुजु उपाध्यक्ष र अध्यक्षको नाममा आएकोमा उनले दुखेसो पनि पोखे ।




प्रतिक्रिया दिनुहोस्