Skip to content

‘विशेष महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुग्यो’ : मोहन बस्नेत

विराटनगर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले वर्तमान नेतृत्वमाथि पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका छन् । विराटनगरमा आयोजित कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रको नेतृत्व शैली र सदस्यता व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बस्नेतले पार्टीभित्र बढ्दो आन्तरिक विवाद र क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई लिएर नेतृत्वमाथि प्रश्न उठाए। उनका अनुसार नेतृत्वले योजनाबद्ध रूपमा पुराना र स्थापित नेताहरूलाई पाखा लगाउने प्रयास गरिरहेको छ । उनले बीपी कोइरालाको राजनीतिक विरासत बोकेका नेतादेखि लामो समय पार्टीमा योगदान दिएका वरिष्ठ नेताहरूलाई समेत सदस्यता नवीकरणमा समस्या सिर्जना गरिएको दाबी गरे ।

‘बीपी पुत्रदेखि ६०–६५ वर्ष पार्टीमा लगानी गरेका सिनियर नेताहरूको सदस्यता रद्द हुने, तर नयाँका नाममा २४ सै घण्टा बिना कुनै डाटा मान्छे भर्ने काम भइरहेको छ,’ बस्नेतले भने, ‘यो कांग्रेस सिध्याउने षड्यन्त्र हो ।’  बस्नेतले पूर्वमहामन्त्री शशांक कोइराला, उपसभापति प्रकाशमान सिंह र नेता विमलेन्द्र निधिजस्ता प्रभावशाली नेताहरूको क्रियाशील सदस्यता नवीकरणमा समेत अवरोध गरिएको आरोप लगाए । उनले वर्तमान नेतृत्वको आलोचना गर्दै भने, ‘कांग्रेसलाई इतिहासकै कमजोर बनाउने काम विभिन्न नाटकबाट भयो। त्यसको मुख्य पात्र वा खलनायक भन्नुस्, हाम्रा अहिलेका सभापति गगन थापाजी हुन्। अब उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?’ बस्नेतले पार्टीलाई सुदृढ बनाउन र संगठन जोगाउन सबै नेता–कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्