काठमाडौं – नेपालमा डिजिटल संवादको प्रभावकारी माध्यमका रूपमा स्थापित ‘देश प्रदेश पोडकास्ट’ ले आफ्नो दोस्रो सिजनको औपचारिक घोषणा गरेको छ । पहिलो सिजनको सफलतापछि कार्यक्रमले अब आफूलाई केवल डिजिटल श्रव्य–दृश्य सामग्रीमा सीमित नराखी राष्ट्रियस्तरको बहुआयामिक मिडिया प्लेटफर्मका रूपमा विस्तार गर्ने रणनीति सार्वजनिक गरेको हो । उद्यमी तथा सञ्चारकर्मी सरिता ज्ञवाली द्वारा सञ्चालित देश प्रदेश पोडकास्टले पहिलो सिजनमा १२ प्रभावशाली एपिसोडमार्फत समाज, राजनीति, अर्थतन्त्र, उद्यमशीलता, शिक्षा, सञ्चार, नेतृत्व, विकास, नवप्रवर्तन तथा समसामयिक विषयमा अर्थपूर्ण संवाद प्रस्तुत गर्दै दर्शक तथा स्रोतामाझ आफ्नो अलग पहिचान बनाउन सफल भएको जनाएको छ ।
कार्यक्रमका आयोजकका अनुसार पहिलो सिजनमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सफल उद्यमी, नीति निर्माता, सञ्चारकर्मी, सामाजिक अभियन्ता, शिक्षाविद् तथा युवा नेतृत्वसँग भएका संवादले कार्यक्रमलाई विश्वसनीय र प्रभावकारी विचार मञ्चका रूपमा स्थापित गरेको छ । कार्यक्रममार्फत उठाइएका विषयले सूचना प्रवाहसँगै समाजमा सकारात्मक बहस र विचार आदानप्रदानको वातावरण निर्माणमा योगदान दिएको दाबी गरिएको छ । दोस्रो सिजनसँगै देश प्रदेश पोडकास्टले आफ्नो पहुँच र प्रभावलाई अझ फराकिलो बनाउने लक्ष्य लिएको छ । यसअन्तर्गत अब कार्यक्रमका सामग्री राष्ट्रिय टेलिभिजन नेटवर्कमार्फत प्रसारण गरिनेछ भने राष्ट्रिय दैनिक पत्रपत्रिका तथा व्यावसायिक एवं आर्थिक म्यागजिनमार्फत समेत प्रकाशन गरिने योजना रहेको छ । साथै सामाजिक सञ्जाल, भिडियो प्लेटफर्म तथा अन्य डिजिटल माध्यममार्फत कार्यक्रमलाई थप व्यापक दर्शकसम्म पुर्याइने जनाइएको छ ।
आयोजकका अनुसार यो विस्तारले देश प्रदेश पोडकास्टलाई परम्परागत पोडकास्टको सीमाभन्दा माथि उठाउँदै राष्ट्रियस्तरको सञ्चार तथा विचार मञ्चका रूपमा स्थापित गर्नेछ । यसबाट विभिन्न क्षेत्रका अनुभव, चुनौती, अवसर र सफलताका कथाहरू अझ ठूलो समुदायसम्म पुग्ने अपेक्षा गरिएको छ । दोस्रो सिजनमा उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, प्रविधि, आर्थिक विकास, महिला नेतृत्व, युवा उद्यमशीलता तथा सामाजिक रूपान्तरणजस्ता विषयमा विशेष शृंखला सञ्चालन गरिने तयारी गरिएको छ ।
यसैबीच दोस्रो सिजनको शुभारम्भ अवसरमा आयोजना हुने ‘देश प्रदेश पोडकास्ट सिजन–२ शुभारम्भ तथा मिडिया पार्टनरशिप साँझ’ कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, उद्यमी, साझेदार संस्था, प्रायोजक तथा सरोकारवालाहरूको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा पहिलो सिजनको समीक्षा, उपलब्धिको प्रस्तुति, प्रायोजक तथा सहयात्रीहरूको सम्मान, नयाँ रणनीतिक साझेदारी घोषणा, सम्झौता हस्ताक्षर तथा आगामी योजनाहरू सार्वजनिक गरिनेछ ।
आयोजकले देश प्रदेश पोडकास्टलाई केवल एउटा कार्यक्रम नभई विचार, अनुभव र सम्भावनालाई जोड्ने साझा मञ्चका रूपमा अघि बढाइएको उल्लेख गर्दै दोस्रो सिजनमार्फत राष्ट्र, समाज र भविष्यसँग सम्बन्धित विषयहरूलाई थप गहिराइ र प्रभावका साथ प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ । ‘हामी केवल सामग्री उत्पादन गर्ने होइन, समाजमा सकारात्मक संवादको संस्कृति विकास गर्ने अभियानमा छौं । विविध क्षेत्रका अनुभव र दृष्टिकोणलाई एउटै मञ्चमा ल्याएर राष्ट्रिय बहसलाई थप समृद्ध बनाउने हाम्रो प्रयास निरन्तर रहनेछ,’ आयोजकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्