Skip to content

कलेजको वातावरणका कारण डिप्रेसनमा परेका विद्यार्थीले छतबाट हामफालेपछि मृत्यु

ललितपुर – जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीको कलेजको छतबाट हामफालेपछि मृत्यु भएको घटनामा नयाँ तथ्य खुलेको छ । प्रारम्भिक अनुसन्धानअनुसार विद्यार्थी कलेजकै वातावरणका कारण मानसिक समस्या (डिप्रेसन) मा परेको खुलेको प्रहरीले जनाएको छ । सोमबार दिउँसो करिब साढे १२ बजे कलेजको छतबाट हामफालेका विद्यार्थी आर्यन सिंहको उपचारका क्रममा सोही साँझ सुमेरू सिटी अस्पतालमा मृत्यु भएको थियो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार घटनास्थलबाट भेटिएको हिन्दी रोमन अक्षरमा लेखिएको सुसाइड नोटमा विद्यार्थीले कलेजका साथीहरू र त्यहाँको वातावरणबारे उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार नोटमा कसैलाई प्रत्यक्ष आरोप लगाइएको छैन । बरु उनले आफ्ना केही गुनासा र मानसिक अवस्थाबारे उल्लेख गरेका छन् । परिवारप्रति भने कुनै असन्तुष्टि वा गुनासो नदेखिएको प्रहरीले जनाएको छ । ‘सुसाइड नोट सरसर्ती अध्ययन गर्दा उनी साथीहरूको व्यवहार र कलेजको वातावरणका कारण मानसिक तनावमा रहेको बुझिन्छ । तर कसैको नाम वा कुनै विशेष घटना उल्लेख गरिएको छैन,’ एसपी मिश्रले बताए । मृतक आर्यन सिंह हाल काठमाडौं महानगरपालिका–७, चावहिलमा परिवारसँग बस्दै आएका थिए भने उनको स्थायी ठेगाना पर्साको वीरगञ्ज महानगरपालिका–२२ रहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्